भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आज भर्चुवल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको छलफलका क्रममा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रुपमा नलिन आग्रह गरेका हुन् ।
“३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ,” गृहमन्त्री लेखकले भने, “शान्ति सुरक्षा नभएर पुनःमतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।”
निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उनले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिनेस्थिति आउन नदिन आग्रह गरे ।
त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकाप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको उनी बताउछन् ।
गृहमन्त्री लेखकले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजस्व चुहावन नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।
मन्त्री लेखकले नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । “२४ सै घण्टा काम गर्ने गरी गुनासो व्यवस्थापन केन्द्र स्थापना केही दिनमै हुन्छ,” उनले भने, “जिल्लामा नागरिकको गुनासो सुन्ने पहिलो अधिकारी नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हो ।”
गृह मन्त्रालयद्वारा आयोजित उक्त भर्जुवल बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया