कृषि विकास रणनीति छिट्टै ल्याइन्छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कृषि क्षेत्रका अधिकांश समस्या समाधान गर्नेगरी कृषि विकास रणनीति ल्याउने बताएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा २०औँ राष्ट्रिय कफी दिवसका अवसरमा शुक्रबार कीर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले समयानुकूल परिमार्जन गर्न सातै प्रदेशका सरोकारवाला पक्षसँग सुझाव लिएको बताए ।

किसानमैत्री वातावरण बनाउन प्रदेश र स्थानीय तहलाई विशेष जिम्मेवारी प्रदान गरी रणनीति परिमार्जन आवश्यक रहेको बताउँदै उनले भने जीविकोपार्जनका लागि कृषिकर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन प्रेरित गर्नेगरी रणनीतिमा बीउबिजन, मल, प्राविधिक सहयोग, बजारको व्यवस्था तथा पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ ।

मध्यपहाडी भेगमा रहेका बाँझो जमिनलाई खेती गर्न प्रोत्साहन गरिने सरकारको नीति रहेको भन्दै मन्त्री अधिकारीले कृषि, भूमि र ऊर्जा मन्त्रालयबीच समन्वय भइरहेको प्रष्ट पारे ।

नेपाली हावापानीमा उत्पादित अरविका कफीको उच्च माग विदेशमा रहेकाले त्यसको उत्पादन वृद्धि गर्न किसानलाई सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया