महर्षि कणिक भारद्वाजको कूटनीति—शत्रुको शत्रु मित्र हुनसक्छ !
महाभारत जस्तो ठुलो महाकाव्यमा जे पनि पाइन्छ । भनाइ नै छ,जुन कुरा महाभारत ग्रन्थमा छैन, त्यो अन्यत्र कतै पाइँदैन । त्यसैले महाभारतलाई राजनीति, धर्मनीति, कूटनीति, इतिहास, भूगोल,ज्योतिषी, खगोल शास्त्र, हतियार शास्त्र तथा मानव शास्त्रको विश्वकोश अर्थात् आधार ग्रन्थको रुपमा मानिन्छ ।
द्वापर युग र कली युगको सन्धि समयको इतिहास र सभ्यताको रुपमा यसलाई लिइन्छ । विश्वप्रसिद्ध श्रीमद्भगवत् गीताको प्रसङ्ग पनि महाभारत भित्रको भीष्म पर्वको एक त्यस्तो अंश हो जुनबेला अन्यौलग्रस्त विचलित र मोहवशीभूत अर्जुनलाई कर्तव्य पथमा फर्काउन महाभारत युद्धमा अर्जुनको सारथिको रुपमा रहनु भएका श्रीकृष्णले दिएको उपदेशका रुपमा मानिन्छ । गीतालाई पौरस्त्य दर्शनको आधारस्तम्भ मानिएको छ जसमा वेद, उपनिषद् र पुराणका सबै तत्वहरु समावेश गरिएको छ भनिन्छ ।
महाभारतभित्र राज्यका प्रमुख व्यक्ति राजाका गुणहरुको व्याख्या गरिएको छ र राजाले गर्नुपर्ने कामको विवरण समेत स्पष्ट पारिएको छ । राजा या राज्यको प्रमुख व्यक्ति जसले पनि आफ्ना कामहरु कसरी गर्नुपर्छ भन्ने विषयमा कर्तव्या कर्तव्यको ज्ञान दिइएको पाइन्छ । यस प्रसङ्गमा हस्तिनापुरका महाराज, भारत वर्षका चक्रवर्ती महाराज धृतराष्ट्रले आफ्ना मन्त्री कणिकको कूटनीतिलाई सुनेर, मनन गरेर कार्यान्वयन गर्दा हस्तिनापुरको राजनीतिले नयाँ कोल्टे फेरेको थियो र युगान्तकारी परिवर्तन भएको थियो । अर्थात् कणिकको राजनीतिक उपदेशका कारणले सिर्जित परिस्थितिले कौरव र पाण्डवमा आपसमा समझदारी बढ्नु भन्दा झन् भयंकर युद्ध चर्कियो ।
तर महाभारतमा अर्का कणिक ऋषिको पनि प्रसङ्ग रहेछ शान्तिपर्वको अध्याय १४० मा जहाँ नयाँ महाराजको रुपमा स्थापित भएका युधिष्ठिरले शर शय्यामा इच्छित मृत्यु पर्खेर बसेका पितामह भीष्मसँग राजनीतिक उपदेश लिन जाँदा सौवरी नरेश शत्रुञ्जय र भारद्वाज कणिक ऋषिको वार्तालाप सुनाएको पाइन्छ ।
स्मरणीय छ, आफ्नो इच्छामरणका लागि मृत्यु पर्खेर बसेका भीष्म पितामहलाई स्मरण शक्ति र बोल्ने क्षमताको आशीर्वाद श्रीकृष्णले दिएका थिए र पितामह आफ्ना राज्यका पछिल्ला चक्रवर्ती युधिष्ठिरलाई राजाले गर्नुपर्ने कर्तव्यका बारेमा अनेक ऐतिहासिक उदाहरण दिँदै अर्का कणिक ऋषिको सिद्धान्तका आधारमा राजधर्मको ज्ञान दिएका थिए । प्रसङ्ग धेरै छन् तर अहिले यहाँ भारद्वाज कणिकको राज्यनीति र कूटनीतिको बारेमा जानकारी गराइएको छ ।
विभिन्न प्रसङ्गमा आफ्ना जिज्ञासा राख्नेक्रममा महाराज युधिष्ठिर प्रश्न गर्छन्—भरतनन्दन पितामह, सत्य, त्रेतापछि सुरु भएको द्वापर युगको पनि अन्त्य हुन लागेको छ र अब कली युगको सुरुवात हुँदैन । बिस्तारै धर्म क्षय हुने क्रममा छ । डाकु, लुटेराहरु धर्मको क्षयीकरण गर्न झन् लागी परेका छन् । यस्तो अवस्थामा कसरी राज्य सञ्चालन गर्ने होला ?
युधिष्ठिरको प्रश्नको उत्तर दिँदै शरशय्यामा सुतेका भीष्म पितामहले भने—भरतनन्दन, यस्तो बेलामा आपत्कालीन नियम बताउँछु , आपत्धर्मका रुपमा अपनाउनु पर्ने कामहरु हुन्छन् राजाले । आपत्कालको समयमा भूमिपालले दया, माया परित्याग गरेर समयोचित व्यवहार गर्नु जरुरी हुन्छ । यस विषयमा भारद्वाज कणिक ऋषि र सौवरी नरेश शत्रुञ्जयका बिचमा भएको वार्तालाप यहाँ प्रासङ्गिक हुनेछ । भीष्म पितामहले भन्दै गए...महाराजा युधिष्ठिर हात जोडेर सुन्दै गए...
सौवीर देशमा एकजना प्रसिद्ध महारथी राजा थिए शत्रुञ्जय । ती राजाले आफ्नो कर्तव्याकर्तव्य निश्चित गर्नका लागि भारद्वाज कणिक ऋषिसमक्ष गएर सोध्न थाले—अप्राप्य वस्तु कसरी प्राप्त गर्न सकिन्छ ? प्राप्त भएपछि कसरी त्यो द्रव्यको वृद्धि गर्न सकिन्छ ? यसरी वृद्धि भएको सम्पत्तिलाई कसरी जोगाउन सकिन्छ ? त्यसरी सुरक्षित गरिएको द्रव्यको सदुपयोग कसरी गर्नुपर्छ ? राजा शत्रुञ्जय स्वयं ज्ञानी थिए र पनि आफ्नो कर्तव्य जान्नका लागि विद्वान राजनीतिज्ञ तथा कूटनीतिज्ञ ऋषि कणिकसँग सोधेका थिए । त्यसपछि ब्राह्मण कणिकले भने—राजा सधैँ दण्ड दिन उद्यत रहनु पर्छ ।
सधैँ पुरुषार्थ प्रकट गर्नका लागि तयार रहनु पर्छ । पुरुषार्थ देखाउने क्षमता हुनुपर्छ । राजा आफ्ना दुर्बलता वा छिद्र कहिल्यै प्रकट नगरोस् । तर शत्रुपक्षको छिद्र वा दुर्बलताप्रति सधैँ ध्यान राखोस् । जत्तिबेर शत्रुको दुर्बलता देखिन्छ, त्यत्तिबेरै शत्रुमाथि आक्रमण गरोस् । पुरुषार्थले द्रव्य कमाओस्, जनताको हितमा द्रव्यको सदुपयोग गरोस् जसले राज्यको वृद्धि र जनताको हित होस् । जुन राजा दण्ड दिन सधैँ उद्यत रहन्छ, ऊसँग प्रजाहरु अत्यन्त डराउँछन्,त्यसैले समस्त प्राणीहरुलाई दण्डद्वारा नै काबुमा राख्न सकिन्छ । साम, दाम, दण्ड र भेद मध्ये राज्य सञ्चालनमा दण्ड नै उत्तम उपाय हो भन्ने मानिन्छ ।
विद्वान राजाले पहिले शत्रुपक्षको समूल उखेलोस्, त्यसपछि उसका सहायक र पक्षपातीहरुलाई पनि त्यसै गरी नष्ट गरोस् । सङ्कटकाल आउने बित्तिकै राजाले सबैसँग मन्त्रणा गरोस्,पराक्रम देखाएर लडोस्, उत्साहपूर्वक यसरी युद्ध गरोस् कि शत्रुलाई भ्रम परोस्, यो राजा त मसँग लड्नका लागि पहिले देखि नै तयार रहेछ । आवश्यक परेमा सुन्दर तरिकाले पलायन पनि गरोस्, भागोस् जसले गर्दा राज्य र राजाको सुरक्षा हुन सकोस्र । आपत्कालमा आवश्यक कामहरु मात्र गर्नुपर्छ, त्यहाँ सोच विचार गर्नतिर लाग्नु हुँदैन ।
राजा छलफल, वार्तालाप, औपचारिक या अनौपचारिक बहसमा अत्यन्त विनयशील देखियोस् तर ध्यान यसरी सबैतिर पुर्याओस् कि दुईधारे छुराजस्तै भित्री तयारीमा रहोस् । वार्ताको सुरुमा हाँसेर बोलोस्, क्रोध कतै नदेखियोस् ।रिस उठेको मानिससँग पनि हाँसेर बोलोस् किनभने मनमा भएको रिस देखाएमा ऊ सतर्क हुन्छ ।
राजाले आवश्यक परेमा शत्रुपक्ष या मित्रसँग पनि सन्धि, सम्झौता र सहमति गरोस् तर त्यसमाथि विश्वास नराखोस् किनभने आफ्नो स्वार्थ पूरा गराउने र त्यसबाट पछि हट्ने काम गरोस् । शत्रुसँग मित्र बनेर मिठा कुराहरु गरेर सान्त्वना दिई रहोस् । तर जसरी सर्पको बास भएको घरमा त्यहाँ बस्ने मानिसहरु सुरक्षित अनुभव गर्दैनन्, डरैडरमा बाँच्छन्, त्यस्तै सन्धि गरिएका विषयमा कुनै पनि बेला धोका हुने कुरामा सतर्क हुने र आफ्नो स्वार्थ पूरा भएपछि सन्धिलाई समाप्त पारोस् । सन्धि गरे पनि शत्रुसँग डर रहन्छ, सतर्क भएर बस्नैपर्छ ।
जो राजासँग दुःख परेर रुन कराउन आएको छ, उसलाई सान्त्वना दिने र उसको भन्दा बढी दुःख पाएकाहरुको उदाहरण दिने गर्नुपर्छ र सान्त्वना पाउँछ ।
जसको आफ्नो काम गराइमा बुद्धि पुगेको देखिँदैन, त्यसलाई आशा देखाओस्, यस्तो दिउँला , उस्तो दिउँला भनेर । विद्वान व्यक्तिलाई धन दिएर शान्त पारोस् अर्थात् राजासामु आएका उद्विग्न र व्यथित व्यक्तिलाई जसरी हुन्छ शान्त पारोस् । ऐश्वर्य चाहने राजाले ऐश्वर्य प्राप्त गर्नका लागि अवसर पर्दा शत्रुलाई पनि हात जोडोस्, कसम खाओस्, आश्वासन देओस् , आवश्यक परे विश्वास दिलाउन खुट्टैमा ढोगोस् । उस्तै परेमा शत्रुको हितका लागि भनेर रोओस् , आँसु खसालोस् र शत्रु रोएको देखेमा उसको आँसु पनि पुछोस् । जबसम्म शत्रु आप्mनो अनुकूल हुँदैन, उसलाई काँधमा बोकेर भने पनि खुसी पारोस् तर ऐश्वर्य प्राप्त हुन्छ, आफ्नो स्वार्थ पूरा हुन्छ, काँधमा बोकेको घैँटो ढुङ्गामा बजारेर फुटाएझँै शत्रुलाई समाप्त पारोस् ।
राजाले जहिले पनि पराक्रम गर्न सक्नुपर्छ । साना साना झिक्राहरुले पनि आगोको साथ पाएमा दनदन बलेर आफ्नो क्षमता देखाउँछन् एकछिनलाई भने पनि । त्यसैगरी राजाले पराक्रम निडर भएर देखाओस् । शत्रुसँगको रिस, इख भनेको भुसको आगोजस्तै होस्, बाहिर नदेखाइयोस् तर भित्रभित्रै आगो बलिरहेको होस्, बाहिर धुवाँ पनि नदेखियोस् किनभने अलिकति मात्र पनि शत्रुले इख र रिसको आवेग थाहा पाए सतर्क हुन्छ र अरु नै रणनीति तयार गर्नेछ । मनमा भने सधैँ शत्रुसँगको इबी साँचेर राखोस् ।
राजाले केही गुणहरु अरुसँग लिनुपर्छ । कोइलीको मधुर स्वरमार्फत् अरुलाई आकर्षण गर्ने, बँदेलको जस्तो अचानक आक्रमण गर्ने, मेरु पर्वतझै स्थिर र आफ्नो कुरा स्वाभिमानका साथ प्रस्तुत गर्ने अर्थात् कसैसँग नझुक्ने, खालि घरको गुण हो जो आए पनि त्यो घरमा बस्न पाउने सुविधा हुने अर्थात् राजाले सबैलाई समान मान्ने,नटुवाको गुण हो आफ्ना मनमा जे भए पनि अरुलाई गाएर, नाचेर , हँसाएर खुसी राख्ने । जसरी असल मित्रले सधैँ हित सोचेको हुन्छ, राजाले पनि जनताको हित सोचेर मित्रवत् व्यवहार गर्नुपर्छ जनतासँग ।
राजा सधैँ उठ्ने बित्तिकै शत्रुको कुशल क्षेम सोधोस् , शत्रुको भलाइको कामना गरोस्, यसो किन गरेको हो भने शत्रुलाई लागोस् कि उसले मसँगको शत्रुता बिर्सेको छ र मेरो हित चिताउन थालेको छ । तर शत्रु असावधानी हुने बित्तिकै र आफ्नो अवसर पर्ने बित्तिकै, उसको कमजोरी पत्ता लगाउँदै उसलाई समाप्त पारोस् ।
जो अल्छी छ, कायर छ, अभिमानी छ, लोकोपवाद र लोकचर्चासँग डराउँछ, सधै भाग्यको भर परेर एकदिन मेरो समय आउने छ भनेर पर्खेर बसेको छ , कर्म विहीनरुपमा समयको प्रतीक्षा गरेर बसेको छ , त्यस्ता मानिसले आफ्नो इच्छित कामना पूरा गर्न सक्दैनन् । एकै समयमा अनेक काममा हात हाल्ने, कृतघ्नसँग आर्थिक व्यवहार नगरियोस् । यदि कारोबार या व्यवहार गर्नु परेमा अधुरो काममा हात झिक्नुपर्छ । किनभने प्रयोजन समाप्त भएपछि उसले उपकारी व्यक्तिको उपेक्षा गर्नेछ ।
राजा बकुल्लोझैँ एकाग्र चित्त भएर काम गरोस्, आफ्ना कामहरुका बारेमा चिन्तन गरोस्, सिंहको जस्तै एकैपटक झम्टेर शत्रुलाई समाप्त पार्ने गरी आक्रमण गरोस्, शत्रुको सम्पत्ति लुटोस् र वाणले लक्ष्य भेदन गरेजस्तै गरी निशानामा आफ्नो दृष्टि केन्द्रित गरोस् । पान( अम्मलको प्रतीक), जुवा, स्त्री, शिकार तथा गानाबजाना यी सबैको अनासक्त भावले प्रयोग गरियोस् , उपर्युक्त कुराहरुमा आसक्त हुँदा अनिष्ट हुन्छ । यी राजाका कमजोरी भए पनि ती कमजोरी शत्रुलाई थाहा हुन्छ र शत्रुले त्यहीँबाट षडयन्त्र गर्नेछ ।
राजा सधैँ सतर्क रहोस् । साथमा नक्कली धनुष भने पनि राखोस्, आवश्यक पर्दा आँखा नदेख्ने , केही पनि नसुन्ने नाटक समेत गर्न पछि नपरोस् किनभने त्यो नाटकले शत्रुको कमजोरी थाहा पाउन सजिलो हुनेछ ।
देशकाल अनुसारको पराक्रम गर्न सकिएन, समय अनुकूल काम गर्न सकिएन भने राजाले गर्ने सम्पूर्ण प्रयासहरु असफल हुनेछन् । राजा सधैँ सतर्क रहोस् र समयको अनुकूलतालाई सधैँ ध्यानमा राखोस् । आफ्नो समय अनुकूल छ कि छैन ? त्यो बुझेरमात्र, शत्रुको बल बुद्धि, पराक्रम आँकलन गरेरमात्र युद्ध, सन्धि , सम्झौता जे गर्दा राजा र राज्यलाई राम्रो हुन्छ , त्यसै गरोस् । जुन राजाले जितेको शत्रुलाई मार्दैन, त्यसले आफ्नो काल निकट भविष्यमा नै निम्त्याएको मानिन्छ ।
बुद्धिमान राजा फूलले ढकमक्क फुलेको तर फल नलाग्ने रुखजस्तो, फल लागेको भए पनि फल नपाक्ने खालको, पाकेमा टिप्नै नसकिने खालको र खानै नहुने नमिठो खालको जस्तो हुुनुपर्छ ।राजाले शत्रुको अपेक्षा कहिल्यै पूरा नगरोस् । उसले काम गरेमा पनि ढिलोढालो गरोस् । तर सधैँ म त त्यही काममा व्यस्त छु भनेर झुलाओस् ।
शत्रुसँग सधैँ डराओस् तर डर नलागेको जस्तो भान पारोस् र यदि आक्रमण गरी हाल्यो भने नडराई लडोस्, पराक्रम देखाओस् ।
राजा भविष्यद्रष्टा हुनुपर्छ , निकट तथा दूर भविष्यको आँकलन गर्न सक्ने हुनुपर्छ । सङ्कट आयो भने सम्पूर्ण बल लगाएर त्यसलाई दबाउनु पर्छ ।
यदि कुनै इच्छित सुख प्राप्त भएको छ भने त्यसको उपयोग गरोस्, भविष्यमा प्राप्त हुने सुखको आशामा अहिले पाएको सुख नछोडोस् किनभने भविष्यको कुनै ठेगान हुँदैन, भविष्य आफ्नो हातमा हुँदैन ।
जुन राजा शत्रुसँग या मित्रसँग सम्झौता गरेर बसेको छ, ऊ निश्चिन्त भएर नबसोस् र सन्धि या सम्झौतामा गरेका बाचा पूरा गरेको छ कि छैन भनेर चियोचर्चा गरिरहोस् ।
जो विश्वासपात्र होइन, उसको त विश्वास नगरोस नगरोस् । जो विश्वासपात्र मानिएको छ, उसको पनि अति विश्वास नगरोस् र बेला मौकामा विश्वासपात्रको पनि परख गरिरहोस् । जो व्यक्ति शत्रुको पनि शत्रु हो, ऊ मित्र हुनसक्छ, ऊसँग मित्रता गरियोस् तर सावधानीका साथ , उसको उपयोग ध्यान दिएर र विश्वासमा लिएर गरियोस् । शत्रुको गुप्तचरको पहिचान गुप्तरुपमा नै गरियोस् , उसलाई थाहा नहोस् कि मलाई चिनेका छन् । उसको छद्मरुपमा नै उसको गुप्तचरी गरियोस् ।
आफ्नो राज्यमा भएका राम्रा नराम्रा कामको जानकारीका लागि गुप्तचरको व्यवस्था गर्नुपर्छ तर त्यस्ता गुप्तचरहरु भने सार्वजनिकरुपमा पहिचान दिएर राख्नु हुँदैन । शत्रुपक्षीय देशहरुमा राखिने गुप्तचर अत्यन्त विश्वासिलो, आफ्नो राज्यप्रति र राजाप्रति बफादार, चलाख तथा इमान्दार व्यक्तिलाई खटाउनु पर्छ तर उनीहरु जोगीको रुपमा, माग्नेको रुपमा, पागलजस्तो भेषमा, तपस्वीको रुपमा, तीर्थस्थलहरुमा, सभागृहमा, नगरको प्रवेशद्वारमा, बगैँचामा, मानिसहरुको भिडभाड हुने सभा समारोह र हाटबजारमा घुमून् र आफ्नो देशका बारेमा त्यहाँ के भन्छन् अनि त्यहाँका राजाका बारेमा कस्तो धारणा छ , सबै सूचना संग्रह गरुन् र उपयुक्त माध्यमबाट या आफैँ आई राजालाई जानकारी गराउन् । गुप्तचर यस्तो व्यक्तिलाई नियुक्त गरियोस् जसलाई त्यहाँका मानिसहरुले नचिनून् ।
धर्मको नाममा कपटपूर्ण आचरण गर्ने, पापात्मा, चोर, तथा जगत्मा काँडाजस्तै गरी बिझाएका , जनतालाई दुःख दिनेहरुको पहिचान गर्ने भनेको नै गुप्तचरले हो । तिनीहरुलाई दण्ड दिएपछि मात्र जनताका शान्ति बहाली हुन्छ र राजाप्रति अभिभावकको रुपमा र दण्डाधिकारी भएको विश्वास बढ्छ ।
राजाले सबैलाई सन्देहको दृष्टिले हेरोस् । जसलाई सन्देह गर्नु पर्दैनथ्यो, उसलाई पनि सन्देहको दृष्टिले हेरोस् किनभने सबैभन्दा विश्वासिलो व्यक्तिले धोका दियो भने धेरै अनिष्ट गराउन सक्छ । त्यसैले सावधानी पूर्वक चियो गरोस् र उसका व्यवहारहरुको परख गरिरहोस् । शत्रुप्रति पनि विश्वास दिलाउन अनेक विश्वासको वातावरण तयार गरोस् र शत्रुलाई भ्रममा पारोस् , अनि आफ्नो अवसर आउने बित्तिकै उसमाथि आक्रमण गरोस् र समाप्त पारोस् ।
राजाले राज्य र राजाको हितका लागि पुत्र, पिता, बन्धु, मित्र जो भए पनि राजाको मार्गमा अवरोध गरेको बेलामा बाँकी नराखोस् र मारोस् र आफ्नो बाटाको काँडा समाप्त पारोस् । यदि गुरुबाट पनि धर्म अधर्म विचार नगरी राज्य र राजाका विरुद्धमा अनिष्ट हुन लागेमा दण्ड दिएर तह लगाओस् , दण्डले ठिक बाटोमा ल्याउने छ । राजाले के बुझ्नु पर्छ भने कोही पनि जन्मँदै शत्रु र मित्र हुँदैन, राजाको सामथ्र्यका कारणले र व्यवहारले शत्रु र मित्र हुने हुन् ।
शत्रु राजभवनमा आउँदा उठेर स्वागत गर्नुपर्छ, प्रिय वचन बोल्नुपर्छ, अभिवादन गर्नुपर्छ , उसलाई अपूर्व उपहार दिएर खुसी पार्नुपर्छ , विश्वास दिलाउनु पर्छ । यसरी उसलाई यस्तो विश्वास दिलाउन सक्नुपर्छ कि उसले सम्झियोस् मेरो शत्रुता उसले बिर्सिएको रहेछ । उसलाई खुसी पारेर उसको श्रीसम्पत्ति प्राप्त गर्नुपर्छ । उसलाई अविश्वासको कुनै शङ्का रहन दिनु हुँदैन तर जब समय आउँछ, शत्रुको कमजोरी पत्ता लाग्छ, उसको कमजोरीमा आक्रमण गरेर उसको नाश गर्नुपर्छ । राजाले शत्रुलाई प्रहार गर्ने बेलामा पनि प्रिय बोलोस्, प्रहार गरेपछि पनि प्रिय बोलोस् र उसलाई मारेपछि पनि अरुलाई शङ्का नै नहोस् कि उसैले प्रहार गरेर मारेको हो । आफूलाई अपकार गरेको शत्रुलाई जसरी पनि बदला लिएर मारेरै छोडोस्, यदि उसले प्रहार गर्ने बेलामा विलाप गरे पनि माया दया नदेखाओस् र प्रहार गरोस् । त्यसपछि उसको मृत्युमा शोक व्यक्त गरोस् ।
राजाले ऋण, शत्रु र आगोको शेष बाँकी राखेपछि त्यो बढ्दै जाने कुरामा ध्यान दिनुपर्छ । रोगजस्तै हो बढेमा पछि बिसेक हुन गाह्रो हुन्छ । आगोको झिल्कोले वन डढाउँछ, ऋण बढ्दै जान्छ र शत्रुले मौका पाउने बित्तिकै आक्रमण गरेर समाप्त पार्छन् ।
राजाले गिद्धबाट दूरदृष्टिको गुण सिकोस्, बकुल्लोबाट एकाग्र भएर काम गर्ने बानी सिकोस्, कुकुरबाट सदैव सजग र सतर्क हुने गुण सिकोस् । सिंहको समान जुनसुकै बेलामा पनि तयारी साथजस्तै पराक्रम प्रकट गरोस् । मनमा उद्वेगलाई स्थान नदिओस्, दुईमनले कुनै पनि काम नगरोस् । कागबाट सदैव सचेष्ट हुने र अरुको मनोविज्ञान बुझेर काम गर्ने बानी सिकोस् र अर्काको प्वालभित्रै निःसंकोच पसेर आक्रमण गर्ने क्षमता सर्पबाट सिकोस् ।
जो आफू भन्दा शूरवीर छ, त्यसलाई हात जोडेर खुसी पारोस् र आफ्नो वशमा राखोस् । जो डरपोक छ , त्यसलाई डर देखाएर तह लगाओस् , लोभीलाई धन दिएर आफ्नो पक्षमा पारोस्, आफ्नो कब्जामा राखोस् , जो आपूmसँग बराबरीको छ ,उससँग युद्ध गरोस् र जितोस्, आफ्नो वशमा पारेर उसको राज्य कब्जा गरोस् अनि उसलाई मारेर मात्र बदला लिओस् ।
विभिन्न जातजाति र श्रेणीका मानिसहरु राज्यमा हुन्छन्, राज्य र राजाका विरुद्ध संगठित हुन सक्छन् विभिन्न समूह बनाएर , तिनले राज्यमा अराजकता ल्याउने कोसिस गर्नेछन्, तिनमा भेद पारेर फुटाओस् र आफ्ना मन्त्री तथा सहयोगीहरुको रक्षा गरोस् । सावधान हुनु पर्ने कुरा के पनि हो भने आप्mना मन्त्रीहरुमा पनि गुटबन्दी सुरु नहोओस् र ती अन्य अराजकता फिँजाउनेहरुले राज्यमा फुट ल्याएर राजा र राज्यका विरुद्ध मन्त्रीहरुलाई र कर्मचारीहरुलाई प्रयोग नगरुन् भन्ने कुरामा राजा सजग र सतर्क रहोस् ।
आवश्यकता अनुसार राजा कोमल र कठोर दुवै हुनसक्नुपर्छ । विद्वान व्यक्तिहरुसँग शत्रुता नगरोस् किनभने विद्वान दूरद्रष्टा हुन्छन्, उनीहरुको ज्ञानको पहुँच अतीतको विश्लेषण, वर्तमानको अवस्था र भविष्यमा हुनसक्ने कुराहरुको वारेमा चिन्तनमा केन्द्रित हुन्छ । त्यसैले विद्वानहरुसँग मित्रता गरोस् र आदर सम्मानका साथ राज्यमा राखोस् । यदि विद्वानहरुको विशाल क्षेत्रमा राजा र राज्यको बदनाम भयो भने राज्यको अस्तित्वमाथि नै सङ्कट आउन सक्छ । भविष्यद्रष्टा र निष्कामकर्मी विद्वानहरु शत्रुपक्षसँग मिलेमा राजाको हार हुन्छ, त्यसैले विद्वानलाई अपमान नगरियोस् ।
जुन नदी पौडी खेलेर पार हुन नसक्ने जस्तो लाग्छ, त्यहाँ हाम्फाल्नु हुँदैन । त्यस्तै हो बलवान शत्रुसँग युद्ध गर्नु भनेको पनि हार हुनु हो । यदि आक्रमण गरेर हार्नु परेमा र र उसका सम्पत्ति फिर्ता गर्नु परेमा राज्यको विनाश हुन्छ । त्यस्तो शत्रुमाथि आक्रमण नगरियोस् जसको टाउको काट्न पनि सकिँदैन र युद्धमा जित्न पनि सकिँदैन ।
आफ्ना आपत् कालीन राजनीतिक युक्ति र कूटनीतिक वचनहरु व्यक्त गरिसकेपछि राजा शत्रुञ्जयलाई ऋषि भारद्वाज कणिकले राजालाई सावधान गराउँदै भने — मंैले दिएका सल्लाह आपत् कालका लागि हो, आपत् कालको कर्तव्या कर्तव्यका लागि हो । राजा निष्काम कर्मी हुनुपर्छ । आफूसँग निहुँ खोज्ने शत्रुसँगमात्र शत्रुतापूर्ण र पापपूर्ण व्यवहार गर्नुपर्छ , सधैँभरि शत्रुसँग युद्ध गरेर या जसलाई पनि शत्रु देखेर राज्य सञ्चालन गर्न सकिँदैन । शत्रुलाई आक्रमण गरेर र मारेर मात्र राज्य सप्रँदैन । त्यसैले आपत्धर्मको रुपमा मैले यी राजनीतिक तथा कूटनीतिक राजधर्म बताएको हुँ । जहिले पनि पापकर्म गर्नु हुँदैन । त्यसपछि सौवीर नरेश शत्रुञ्जयले कणिक नीतिको पालना गरी राज्यको सेवा गरे, राज्यलक्ष्मीको उपयोग गरे । भीष्म पितामहको यो भनाइले युधिष्ठिरलाई प्राप्त भएको शिक्षा के थियो भने राजाले कोमलता र कठोरताको सँग पालना गर्नुपर्छ यथोचित मनन गरेर ।
टिप्पणी के गर्न सकिन्छ भने कणिक ऋषि उनै पनि हुनसक्छन् र फरक पनि हुनसक्छन् । धेरैथोरै सिद्धान्त मिल्न गएको पाइन्छ । भीष्म पितामहले दिएको उदाहरण अलि पहिलेकै जस्तो लाग्छ र महाराज धृतराष्ट्रका दरबारमा रहेका मन्त्री कणिक अलि निर्मम र पापाचारका लागि उद्यत गराउने जस्ता देखिन्छन् । कणिकको सिद्धान्तले राज्यका मुख्य सिद्धान्तमध्ये साम , दान , दण्ड र भेदमा दण्डले नै राजाको सम्मान बढ्छ र मुलुकमा अराजकता फैलिन पाउँदैन भन्ने देखिन्छ ।
(महाभारत, शान्ति पर्वको अध्याय १४० मा आधारित)
प्रतिक्रिया