०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप लगाएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा भ्रम फैलाएर अराजकता मच्चाउनेहरूले लोकतन्त्र र संविधान मास्न खोजेको आरोप लगाएका हुन् ।

उनले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्दै सरकारले देश र जनताको भलाइका लागि काम गर्ने दाबी पनि गरे । उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताए । उनले वर्तमान सरकार र समीकरण ८४ सम्मै टिक्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती पनि दिए । वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने उनको भनाइ छ । उनले सरकारले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए । जागरण सभाअघि एमालेले भद्रकालीबाट जुलुस निकालेको थियो । जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरवारमार्ग पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया