बाल सुधारगृह सानोठिमीबाट सय भन्दा बढि बाल बन्दी फरार
बाल सुधारगृह सानोठिमीबाट अपराधमा मुछिएका सय भन्दा बढि बाल बन्दी फरार भएका छन् । सुधारगृहको अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् । सुधार गृहमा ३ सय जना जति थिए। तोडफोड गरेर उनीहरू भागेका छन्।
भाला, छुरी लिएर आएका केही व्यक्तिले डेढ सयजनाभन्दा बढी कैदीलाई पछाडिको ढोका फोडेर भगाएको प्रहरीले जनाएको छ। उक्त घटनामा केही प्रहरी घाइते भएका छन्।
रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको खुट्टामा घाउ भएर नागरिक अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले बिहान सुधारगृहअगाडि विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्।
विरोध प्रदर्शनको केही समयपछि कैदीहरू पछाडिको ढोका फोडेर भागेका थिए। फरारमध्ये केहीलाई समातिएको छ। अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया