ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो विरुद्ध ‘कू’ प्रयासको आरोप

एजेन्सी । ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरु माथि ‘कु’ प्रयास गरेको आरोप लागेको छ । 

प्रहरीले ब्राजिलको सर्वोच्च अदालतमा सन् २०२२ को यो घटनाको अनुसन्धानको नतिजा पेश गरेपछि यस्तो खुलासा भएको हो । अनुसन्धान प्रतिवेदनमा बोल्सोनारोले आफ्नो प्रतिद्वन्द्वी, वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भालाई २०२२ मा भएको चुनावमा पराजयको बाबजुद पदमा रहन खोजेको उल्लेख छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पूर्व राष्ट्रपति बोल्सोनारो विरुद्धको आरोपको सम्बन्धमा, ब्राजिल प्रहरीले पूर्व राष्ट्रपति जैर बोल्सोनारो र अन्य ३६ जना व्यक्तिलाई ‘कू’ को प्रयास गरेको आरोप लगाएको छ । प्रहरीले आफ्नो अनुसन्धानको नतिजा ब्राजिलको सर्वोच्च अदालतमा पेश गरेपछि अब यी आरोप स्वीकार गरेमा पूर्व राष्ट्रपति विरुद्ध मुद्दा चलाइने सम्भावना छ ।

वर्तमान राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले त्यति बेला आफुलाई विष खुवाउने प्रयास समेत भएको खुलासा गरेका छन् । लगभग दुई वर्ष अघि राष्ट्रपति बनेपछि यो पहिलो पटक हो । ७९ वर्षीय लुलाले जनवरी २०२३ मा दोस्रो पटक ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेका हुन् । बोल्सोनारो विरुद्ध ब्राजिलमा हीरा गहना तस्करीमा समेत सामेल भएको विषयमा अनुसन्धान जारी छ । 

बोल्सोनारोले मानिसहरूलाई कोरोना महामारीको समयमा आफ्नो र अरूको कोभिड खोपको स्थितिलाई झूटो बनाउन निर्देशन दिएको पनि आरोप खेप्दै आएका छन । तर, उनले सबै मामिलामा संलग्नता अस्वीकार गरेका छन् । 
 

प्रतिक्रिया