उपसभामुख काठमाडौं गएपछि कोशी प्रदेश सभा बैठक अनिश्चित
कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको छ । बैठक अनिश्चित भएपछि मुख्यमन्त्री उद्धव थापाले आज लिने भनेको विश्वासको मत अनिश्चित भएको छ । गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका उद्धव थापालाई विश्वासको मत लिनका लागि भदौ १३ गतेसम्मको समय छ । सभामुख दनुवारले स्वास्थ्यमा समस्या देखिएको भन्दै उनले प्रदेश सभामा उपस्थित हुन नसक्ने जानकारीसमेत गराएकी छन् । कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर उपसभामुख बिदामा बसेकी हुन् । प्रदेश सभा नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चारजना प्रदेश सभा सदस्यलाई मनोनयन गरिएको छ । बैठक सञ्चालनका लागि मनोनयन गरेका चारजना प्रदेश सभा सदस्यमध्ये नेकपा एमालेकी मालतीकुमारी लिम्बू र राप्रपाका अम्मरबहादुर विष्टले आजको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराइसकेका छन् । बाँकी दुईजना गीता तिम्सिना नेकपा माओवादी केन्द्रकी हुन् भने इस्राइल मन्सुर नेपाली कांग्रेसका हुन् । उपसभामुख दनुवार अनुपस्थित हुँदा यिनै दुईमध्ये एक जनाले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता छ । ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दा नेपाली कांग्रेसका अमृतकुमार अर्यालले गर्नुपर्ने हुन्छ । उनले अध्यक्षता गर्दा मुख्यमन्त्री थापाले विश्वासको मत लिन असहज देखिन्छ । ९३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक गरी सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य छन् । विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका छ गरी ४६ जना प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया