दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि धमाधम काम हुँदै
दैलेख । दैलेखको जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि केही महिना देखि ड्रिलिङको काम धमाधम भईरहेको छ ।
करिब ४ हजार ५ मिटर ड्रिल गरेपछि कति पेट्रोलियम रहेको छ भन्ने पत्ता लाग्ने बताइएको छ । उत्खनन स्थलमा हाल सम्म करिव ३ हजार मिटर ड्रिल भएको छ । सो स्थान बाट पेट्रोलियम पदार्थ व्यावसायिक रूपमा उत्खनन गर्न सकिने या नसकिने निष्कर्ष पनि ड्रिलिङ काम सकिएपछि पत्ता लाग्नेछ ।
चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्वेले भौगर्भिक अध्ययन सम्पन्न गरेपछि चीनकै सी.एन.पी.सी. सीबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले दुई देश बीचको सम्झौता अनुसार ड्रिलिङ को काम अघि बढाएको हो । दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ को जलजले भन्ने ठाउँमा करिब ४५ रोपनीको क्षेत्रफलमा कम्पाउन्ड लगाएर ड्रिलिङको काम भैरहेको हो ।
स्थानियहरूका अनुसार दैलेखमा रहेको श्रीरस्थान मन्दिरमा र यस वरिपरि आगोको ज्वाला बाहिर निस्किरहेको र जमिनमुनि बाट पेट्रोलियम निस्किरहेको ठाउँबाट करिब ३ किलोमिटर पर यो काम भइरहेको छ । यहा गरिएको भौगर्भिक अध्ययनहरूले पेट्रोलियम हुनसक्ने ठाउँ ३ देखि ४ किलोमिटर भित्र हुन सक्ने देखाएका छन् ।
उत्खनन शुरु भएपछि यो ठाउमा अहिले आन्तरिक र वाह्य पर्यटकको संख्या पनि बढेको छ । यस क्षेत्रमा रहेको श्रीरस्थान मन्दिर दर्शन गर्न पुग्नेहरू यो पेट्रोलियम पदार्थ अन्बेषण भएको ठाँउ अवलोकन गर्न जाँदा चहलपहल बढेको हो ।
प्रतिक्रिया