रुसले युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुटिनको दाबी
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी शहर निप्रोमा मध्यमदुरीको मार हान्ने नयाँ विकसित हाइपरसोनिक ब्यालेष्टिक क्षेप्यास्त्रको प्रयोग गरिएको बताएका छन् ।
रुसी सरकारी टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले गैर आणविक हाइपरसोनिक क्षेप्यास्त्रको सफल परिक्षण गरिएको बताएका हुन् । सो क्षेप्यास्त्रले साढे दुई देखि साढे तीन किलोमिटर प्रतिसेकेन्डको गतिमा आफ्नो लक्ष्यमा पुग्ने पुटिनले बताए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनले हालै पश्चिमा देशले दिएको लामो दुरीको मार हान्ने क्षेप्यास्त्र रुस माथि प्रयोग गरेको प्रतिकारमा ओरेश्निक नाम दिइएको उक्त क्षेप्यास्त्र युक्रेन माथि प्रहार गरिएको उनले बताएका हुन् ।
अमेरिका र बेलायतले आफ्नो नीतिमा व्यापक परिवर्तन गर्दै उनीहरुले प्रदान गरेका लामो दुरीको मार हान्ने क्षेप्यास्त्र रुस माथि प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका थिए । त्यस्तो अनुमति पाए लगत्तै युक्रेनले मंगलबार र बिहीबार रुस माथि ती क्षेप्यास्त्र प्रहार गरेको हो ।
युक्रेनलाई रुस विरुद्ध आफ्ना क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने जुनसुकै देशका सैन्य ठेगाना माथि रुसले आक्रमण गर्न सक्ने भन्दै पश्चिमा देशलाई चेतावनी समेत उनले दिएका छन् । युक्रेन द्वन्द्व तर्फ अग्रसर भैरहेको समेत उनको भनाइ छ ।
प्रतिक्रिया