आज नाग पञ्चमी, नागदह र नाग स्थानमा मेला लाग्दै

आज नागपञ्चमी, देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । घरमा नाग, सर्प आदिले दुःख नदिओस् भनेर नाग पूजा गरिने गरिएको पुरोहित बताउछन । 
आज नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ । सो अवसरमा आज काठमाडौंको नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको भीड लागेको छ । साथै देशभर अन्य नाग स्थानहरुमा पनि नागको पूजा गर्न भक्तजनहरु जम्मा भएका छन् । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।   
 

प्रतिक्रिया