‘मेरो गोल, लैङ्गिक हिङ्सा विरुद्धको बोल’ नारा सहित हलेसीमा महिला फुटबल प्रतियोगिता
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् ।
लैङ्गिक हिङ्सा विरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाका १७ टोलीले नाम दर्ता गरेका हुन् ।
‘मेरो गोल, लैङ्गिक हिंसा विरुद्धको बोल’ भन्ने नारा सहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि एक लाख १० हजार १ सय ११ छ । जिल्लामा यस अघि आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि भन्दा हलेसीमा आयोजना गरिएको प्रतियोगिताको पुरस्कार राशि सर्वाधिक हो ।
प्रतियोगिताका लागि जिल्लाका विभिन्न स्थानीयमा दर्ता भएका स्पोर्टस् क्लबका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र भोजपुरका विभिन्न क्लबमा आबद्ध खेलाडीले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । नगरपालिकाले पहिलो पटक आयोजना गरेको महिला फुटबल प्रतियोगिताको खेलतालिका शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।
मङ्सिर ८ गते शनिबार देखि औपचारिक रूपमा शुरु हुने फुटबल प्रतियोगिता त्रिधार्मिक स्थल हलेसी स्थित बसाहाथान खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ । यही मङ्सिर १० गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १ लाख १० हजार १ सय ११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
सेमिफाइनलिस्ट दुई समूहलाई जनही नगद २२ हजार २ सय २२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । यस्तै, विद्यागत तर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १ हजार ५ सय ५५ तथा विद्यागत तर्फकै अन्य खेलाडीलाई जनही १ हजार १ सय ११ का दरले नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।
अभियानका अवसरमा नगरपालिकाले महिला फुटबल सँगै महिला जनप्रतिनिधिका लागि म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरेको जनाइएको छ । दुवै प्रतियोगिता समापनका अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
रासस
प्रतिक्रिया