६ सय ग्राहकको विद्युत् लाइन काटिँदै

बैतडी । विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत् लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।

जिल्लामा विद्युत् प्राधिकरणका ग्राहक बाट ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत् महसुलबापतको  ८० लाख ९९ हजार ३ सय ६२ बक्यौता उठाउन बाँकी छ ।  

मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका ५ सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।

चौरासी वटा सरकारी कार्यालय बाट १७ लाख १९ हजार २सय ३५ बक्यौता उठाउन बाँकी छ । तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन् । यस्तै अन्य ४ सय ९५ ग्राहक बाट ६३ लाख ८० हजार १ सय २६ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख पौडेलले बताए । 

समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य शुरु भइसकेको छ । प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिन भित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति लिएको छ । सोही नीति अनुसार समयमा महसुल नबुझाउने ग्राहकको यो वर्ष पनि पाडेलले जानकारी दिए । 

बैतडीमा गत आर्थिक वर्षमा समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर ६४ लाख बक्यौता रकम असुल गरिएको थियो । लाइन काटेपछि महसुल तिर्नेहरूको प्राधिकरणले पुनः लाइन जोड्ने गरेको छ । 
रासस 

प्रतिक्रिया