मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक देखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।
मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यस अघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हाल सम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ । पूर्वी खण्ड अन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यस मध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ ।
पूर्वी खण्ड अन्तर्गत दमौलीको बुल्दीपुल देखि घाँसीकुवा क्षेत्रमा पनि केही दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताए । दमौली बजारमा सडक विस्तार निर्माण भइरहेको छ ।
यो सडकको पूर्वी खण्डमा हाल सम्म ६८ प्रतिशत प्रगति भएको छ । यसमा १४ वटा साना पुल निर्माण भएका छन् । यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा निर्माण हुँदैछ ।
रासस
प्रतिक्रिया