समाजवादी मोर्चाले सातै प्रदेशमा आमसभा गर्ने
भ्रष्टाचार विरोधी सरकारको अभियानलाई समर्थन
समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । आज नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने र भ्रष्टाचार बिरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको बताए ।
बैठकले घोषणा सभा ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते वागमतीको हेटौंडा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भुमिकाको बारेमा छलफल भएको पनि नेताहरुले बताएका छन ।
प्रदेश घोषणा सभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय पनि बैठकले गरेको छ । मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।
प्रतिक्रिया