शक्तिशाली आँधी हिलरी क्यालिफोर्नियामा बज्रियो

मेक्सिकोमा विध्वंस मच्चाएको ’हिलरी’ आँधी क्यालिफोर्नियामा ठोक्किएको छ । मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएको समुद्री आँधी हिलरी अमेरिकी राज्य क्यालिफोर्नियामा पुगेको हो । हिलरी आँधीले मेक्सिको र अमेरिकामा ’जनधनको क्षति गर्ने’ बाढी ल्याउन सक्ने चेतावनी दिइएको छ । आँधी सुरुमा ७० किलोमिटर प्रतिघण्टाको गतिमा मेक्सिकोको बाया क्यालिफोर्निया प्रायद्वीपमा ठोक्किएको थियो । आँधी मेक्सिकोको बाया क्यालिफोर्निया प्रायद्वीपको उत्तरी भागमा स्थानीय समयअनुसार आइतवार बिहान ठोक्किएको यूएस नेशनल हुरिकेन सेन्टर ‘एनएचसी’ले जनाएको छ । लङ बीच र पाम स्प्रिङ्ससहित क्यालिफोर्नियाका बासिन्दाले बाढीको प्रभाव कम गर्न बालुवाको बोराको प्रयोग गरिरहेका छन । लस एन्जलसकी मेयर करेन बासले समुद्री आँधीलाई “अभूतपूर्व मौसमी घटना भनेकी छिन । क्यालिफोर्नियाका गभर्नरको आपत्कालीन सेवा कार्यालयका निर्देशक न्यान्सी वार्डले हिलरी एक दशकभन्दा बढी समययताकै सबैभन्दा खराब आँधी हुनसक्ने बताएकी छिन । मेक्सिको, क्यालिफोर्निया र नेभाडाका केही भागमा २५ सेन्टिमिटर सम्म वर्षा को सम्भावना रहेको एनएचसीले जनाएको छ । कोलोराडो रिभर भ्याली, मोजावे डेजर्ट र इम्पेरिअल भ्यालीका केही भागमा टोर्नेडोको जोखिम औल्याइएको छ । आँधीमा परेर नदी तर्ने प्रयास गरिरहेका एकजनाको मृत्यु भएको छ । सान्ता रोसालिया सहरका कैयौँ घरहरू अहिले डुबानमा परेका छन । मेक्सिकोमा १८ हजार सैनिकलाई उद्धार कार्यमा खट्न तयारी अवस्थामा राखेको छ । हिलरी नाम दिइएको आँधी उत्तरतर्फ सर्दै जाँदा कमजोर हुने  अनुमान गरिएको छ । यो क्यालिफोर्नियामा ८४ वर्षयताकै पहिलो समुद्री आँधी हो । यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बिचमा यस्तै आँधी आएको थियो ।। 

प्रतिक्रिया