त्यो ‘सनसनीपूर्ण’ खुलासा, यो ‘सन्देहपूर्ण’ कम्बोडिया भ्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनिमा २१ करोड अमेरिकी डलर रुपैयाँ लगानी रहेको भन्दै चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रमाण भनेर कागजात सार्वजनिक गरेपछि पछिल्लो केहि दिनयता नेपालको राजनीतिमा भुकम्प आएको छ ।

प्रसाईंले ‘फेक डकुमेन्ट’ बनाएर प्रधानमन्त्री ओली विरुद्ध प्रचारप्रसार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबीले मंसिर ४ गते पक्राउ गरेको थियो । प्रसाईंले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षर नक्कली रहेको प्रहरीको भनाइ छ । प्रसाईंले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नाम खड्ग प्रसाद आली र खड्क प्रसाद ओली गरि २ वटा नाम भेटिएको थियो । जब, कि प्रधानमन्त्री ओलीको नाम नागरिकतामा केपी शर्मा आली नै रहेको छ । यसरी तयारीका साथ कीर्ते कागजात बनाएर देशकै कार्यकारी प्रमूखका विरुद्ध दुष्प्रचार र भ्रम फैलाएपछि प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिइसकेको छ । उनीमाथि अनुसन्धान गरेर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा कारबाही अगाडी बढाइने प्रहरीको निष्कर्ष छ । बुधबार काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरी प्रसाईंमाथि अनुसन्धान गर्न अनुमति दिएको छ ।

व्यवसायी प्रसाईंले प्रधानमन्त्री ओलीले कम्बोडियामा लगानी गरेको विषय सार्वजनिक गरेपछि सामाजिक सञ्जालदेखि विपक्षी दलका नेता तथा कार्यकर्ताले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । प्रसाईंले ओली विरुद्ध ‘सनसनीपूर्ण’ खुलासा गर्दा यता एमालेका नेताहरु ‘सन्देहपूर्ण’ हिसाबले कम्बोडिया प्रस्थान गरेका छन् । मंसिर  ७ गते फेरी एमाले नेता तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि कम्बोडिया प्रस्थान गर्दै छन् ।

नेकपा एमालेले भोली मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ । उसो त, प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी रहेको भन्दै कागजात सार्वजनिक गर्नु अगाबै एमालेले काठमाडौंमा जागरण सभा गर्ने तयारी गरिसकेको थियो । तर, काठमाडौंको जागरण सभा संयोजन समितिका मूख्य संयोजक रहेका बागमति प्रदेश ईन्चार्ज डा. राजन भट्टराई समेत सभा छाडेर कम्बोडिया पुगिसकेका छन् । एमालेको काठमाडौं केन्द्रित सभा राजनीतिक अस्थिरता दिन, अराजकता विरुद्ध खबरदारी गर्न, विधिको शासन स्थापित गर्न र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्नका लागी गरिने एमालेको भनाइ छ । तर, यस सभालाई कमाण्डर गर्न जिम्मा लिएका राजन भट्टराई अकास्मत कम्बोडिया जानुले पनि धेरेले ‘सन्देहपूर्ण’ रहेको बताइरहेका छन् । यता, प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर रुपैयाँ कम्बोडियामा लगानी रहेको विषय देशभर व्यापक रपमा चर्चा चलिरहेका बेला एमालेका नेताहरु कम्बोडिया पुग्नुले अर्थपूर्ण रुपमा हेरिएको छ ।

दुर्गा प्रसाईंले प्रधानमन्त्री ओली सहित अन्य एमाले नेताहरुले कम्बोडियामा लगानी गरेको भन्दै सामाजिक सञ्जालमा भिडिओ सहित कागजात सार्वजनिक गरेपछि एमाले नेताहरु कम्बोडिया गएपछि राजन भट्टराई लगायतका नेताका विरुद्ध समेत चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीको कम्बोडियामा अबौं रकम लगानी रहेको सार्वजनिक भएकै बेला एमाले नेता तथा बागमति प्रदेश ईन्चार्ज राजन भट्टराई र पराराष्ट्र मामिला विभाग प्रमुख रघुवीर महासेठ एकाएक कम्बोडिया प्रस्थान गर्नुले स्याल कराउनु र कुखुरा हराउनु जस्तै भएको कतिपयको भनाइ छ ।

कम्बोडिया प्रकरणमा प्रदेश ईन्चार्ज भट्टराईले भनेका छन्, ‘भ्रमको खेतिमा रमाउनेहरुलाई जानकारी होस । कम्बोडियामा हुने आईक्यापको १२ औं अधिवेशनमा भाग लिन नेपालबाट ५ वटा राजनीतिक दलबाट १३ जना प्रतिनिधि जाँदैछन् । थप केहि भन्नुपर्छ ?’ कम्बोडिया प्रस्थान गर्नु पहिले सामाजिक सञ्जालबाट जानकारी दिँदै भट्टराईले मंसिर ७ गते हुने जागरण सभाको जिम्मेवारी आफ्नो अनुपस्थितमा कैलाश ढुङ्गेलले सम्हाल्ने बताएका थिए । त्यसपछि बिहीबार भट्टराईले आफु सहित १३ जना नेताहरु कम्बोडियाको एरपोर्टमा पुगेको तस्बिर सार्वजनिक गरेका छन् । उनीमाथि अझैपनि प्रधानमन्त्री ओलीका विरुद्ध सार्वजनिक भएका विषयलाई ढाकछोप गर्न त्यहाँ गएको आरोप लागी रहेको छ । नेता भट्टराई पनि यतिमै रोकिएका छैनन् । कम्बोडियामा आईक्यापको १२ औं अधिवेशननमा भाग लिन गएका उनी सामाजिक सञ्जालमा बारमबार स्पष्टिकरण दिइरहेका छन् । नेपालबाट आईक्यापको १२ औं अधिवेशननमा भाग लिन गएका सबै दलका नेताको नामावली प्रकाशित गर्दै धेरैले चासो राखेकाले सार्वजनिक गरेको बताए ।

कम्बोडियाको प्रकरणको पत्र बाहिर आएकै समय प्रधानमन्त्री ओलीका नजिकका व्यक्ति मानिने राजन भट्टराई र रघुवीर महासेठ कम्बोडिया जानु र मंसिर ७  गते सभामुख घिमिरे पनि जाने तयारी हुनुले भित्रभित्रै खिचडी पाकेको हुनसक्ने भन्दै ‘सन्देहपूर्ण’ विषय भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । यस्ता अन्य प्रकरणमा हिजोसम्म अन्य नेतालाई किटानी गरेर हस्ताक्षर देखाएर आरोप लाग्दा कसैमाथि पनि कारबाही नगरेर दुर्गा प्रसाईंमाथि तुरुन्तै कारबाही गर्नु र एमालेका नेताहरु कम्बोडिया जानु ‘इस्तफाक’ मात्र नभएको कतिपयको भनाइ छ । प्रसाईंले सार्वजनिक गरेको कागजात ‘फेक डकुमेन्ट’ भनिएपनि कसरी ‘फेक डकुमेन्ट’ हो भन्ने विषय प्रष्ट नपारेको ओलीमाथि आरोप छ ।

बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठकले पनि यस विषयमा चासो देखाएको छ । प्रभानमन्त्री तथा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद प्रकरणमा केहि व्यक्तिहरु समेत पक्राउ परकाले सत्यतथ्य छानबिन गरी वास्तविक प्रकाशनमा ल्याउन सरकारसँग रास्वपाले माग गरेको छ ।

यता, सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीशसुब्बा गुरुङले सामाजिक सञ्जालमा दुष्प्रचार र भ्रम फैलाएपछि ताली आउँछ भनेर मानिसहरु त्यही गर्न थालेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीमाथि लागेको आरोप सामान्य होइन् । दुर्गा प्रसाईंले कीर्ते कागजात बनाएर चरित्र हत्या गर्‍यो भनेर पन्छिने छुट प्रधानमन्त्री ओलीलाई छैन् । यस विषयमा सरकारले आम नागरिकलाई सत्यतथ्य जानकारी गराउनुपर्ने र प्रधानमन्त्री ओलीमाथि अनुसन्धान हुनुपर्ने माग बढिरहेको छ ।

प्रतिक्रिया