ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङ । यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ ।
केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा बिहीबार बिहानै देखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
हिमपात सँगै मौसम अझै चिसो बनेको छ । हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।
पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ ।
३ हजार ७९४ मिटरको उचाइमा पर्ने सो मन्दिर क्षेत्रमा हिमपातका कारण यातायातमा समस्या नआए पनि चिसो बाट जोगिन तीर्थयात्रीले सतर्कता अपनाउनुपर्ने पाथीभरा क्षेत्र विकास समितिले सुझाव दिएको छ ।
रासस
प्रतिक्रिया