एउटै वडा बाट ३ करोडको सिमी उत्पादन

जुम्ला । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यस वर्ष ३ करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्ष भन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो ।  

यहाँका ८ वट स्थानीय तह मध्ये सबै भन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नं १ का वडाध्यक्ष जङगबहादुर बस्नेतले जानकारी दिए । विगतमा ८ क्विन्टल भन्दा बढी उत्पादन नहुने गरेकामा यस वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले ४ क्विन्टल सम्म सिमी उत्पादन गरेका छन् । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भएको हो ।

वडाध्यक्ष बस्नेतले गाउँमा सिँचाइको सुविधा पुर्‍याउन चालु आर्थिक वर्षमा वडा कार्यालयले ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । यस अघि सिँचाइको सुविधा नहुँदा यहाँका किसानलाई आकासे पानीको भर पर्नु परेको थियो । गाउँमा पानी पुर्‍याउन स्थानीय सरकारले निरन्तर योजना बनाएर कार्यान्वयन गरिरहेको उनको भनाइ छ । 

सिमी बढी उत्पादन हुने वडा नं १ मा २९० परिवार छन् । अहिले गाउँमा पुगेर व्यापारीले प्रति के.जी. २ सयका दरले सिमी खरिद गर्ने गरेका राराका स्थानीय नर रावतले जानकारी दिए । वडालाई सिमी उत्पादनको पकेट क्षेत्र समेत मानिएको छ । सिमी लगाउने र फल्ने मौसममा वर्षा हुनुका साथै सहज सिँचाइ सुविधा भए पछि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

गाउँका किसानलाई लक्षित गरेर ‘एक गाउँ एक उत्पादन’को रणनीति ल्याएर स्थानीय तहले काम गरिरहेको छ । गाउँ बाट सबै भन्दा बढी सिमी उत्पादन गर्ने किसानलाई प्रोत्साहन समेत गरिने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए । उक्त वडाको मुख्य आम्दानी सिमी र स्याउ हो । अब सिमी र स्याउ खेतीलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फ बाट यहाँका किसानलाई अनुदान उपलब्ध गराइने उनले उल्लेख गरे ।

सिमीको पकेट क्षेत्र भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाले तिला–१ रारालाई सिमी जोन कार्यक्रम लागु गरेको छ । उक्त पालिको वडा नं १ सहित २, ८ र ९ वडाको ८ सय क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख खेमराज शाहीले जानकारी दिए ।
रासस  

प्रतिक्रिया