आपराधिक क्रियाकलापमा संलग्न ८ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ८ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाइ रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाललाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यकाभित्र विभिन्न व्यक्तिलाई ‘अन्डर कभर एजेन्ट’ भनी ज्यान मार्ने धम्की दिई ५० हजारदेखि २ लाखसम्म रकम माग गरेको आरोपमा प्रहरीले निजलाई शङ्खमुलबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठ हाँडीगाउँबाट पक्राउ परेका छन् । निजले सामाजिक सञ्जालमा सम्पर्क गरी विभिन्न बहानामा ७ लाख ७५ हजार विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

यसैगरी आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन कालिका नगरपालिका–७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर पक्राउ परेका छन् । 

रचनाले हङ्गेरी पठाइदिन्छु भन्दै २ जनाबाट १८ लाख र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै एकजनाबाट १ लाख लिई सम्पर्कबिहीन भएका थिए । रचनालाई काठमाडौं महानगरपालिका–१२ बाट र प्रकाशलाई टोखा नगरपालिका–९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।

नक्कली फेसबुक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगीमा संलग्न रहेको अभियोगमा पर्साको वीरगन्ज महानगरपालिका–३१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने २१ वर्षीय सुरज पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । निजले फेसबुकबाट दुबईमा वैदेशिक रोजगारका लागि सुवर्ण अवसर छ, भिजिट भिसामा दुबईमा आएर काम गर्न मिल्छ भनी विज्ञापन राखेर पीडितसँग २ लाख १५ हजार ठगेको प्रहरीले जनाएको छ । 

साथै बैंकिङ कसुर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले बेनी नगरपालिका–९ की ३९ वर्षीया विष्णुमाया केसी, काठमाडौंमहानगरपालिका–१५ का ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर नगरपालिका–७ का ५२ वर्षीय राजेन्द्र तुईतुईलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिए ।

केसीले पीडितलाई खातामा पर्याप्त रकम मौज्दात नभएको १ ५० लाखको चेक दिई फरार भएकी प्रहरीले जनाएको छ । महर्जन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले अघिल्लो जेठ २९ गते पाँच दिन कैद, बिगो १६ लाख र ६४ हजार क्षतिपूर्तिबापत पीडित राहतकोषमा जम्मा गराउने ठहर गरेकामा उनी फरार भएका थिए । 

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउपुर्जी जारी भई फरार रहेका तुईतुईलाई प्रहरीले भक्तपुर नगरपालिका–७ बाट पक्राउ गरेको  हो ।

प्रतिक्रिया