फोन बाट आफू गुप्त एजेन्ट हुँ भन्दै रकम माग गर्ने डाक्टर पक्राउ
काठमाडौं । प्रहरीले ह्वाट्सएप मार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “पक्राउ परेका दाहालले काठमाडौं उपत्यका भित्र विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएप मार्फत आफु अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहार लगायत अन्य ठाँउ बाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यान समेत मार्छु भनी म्यासेज गरी ५० हजार देखि २ लाख सम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमाडौं स्थित शङ्खमुल बाट पक्राउ गरिएको हो ।”
पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
रासस
प्रतिक्रिया