नेपाल र स्विडेन सरकार बीच कार्बन व्यापार सम्झौता
काठमाडौं । नेपाल र स्विडेन सरकार बीच पहिलो पटक कार्बन व्यापार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
अजरबैजानको बाकुमा जारी विश्व जलवायु सम्मेलन कोप—२९ मा स्विडेनका वातावरण मन्त्री रोमिना पोरमौनखारीको उपस्थितिमा दुई देश बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
दुईपक्षीय सहयोग सम्झौतामा नेपालको तर्फ बाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्विडेनका तर्फ बाट त्यहाँको ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि स्वीडेन सरकारले नेपाल सरकारको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमा सहयोग गरी हरितगृह ग्यास न्यूनीकरण गर्ने कार्यमा सहयोग गर्नेछ ।
कार्बन व्यापार सम्बन्धी कार्यमा प्रयोग गरिने सहयोगका लागि नेपालले जलवायु न्यूनीकरण कार्यका लागि परियोजना बनाएर प्रस्तुत गर्नुपर्ने हुन्छ । परियोजना प्रस्तुत गर्न नसके प्रतिवद्धता गरिएको सहयोग फिर्ता जाने जोखिम पनि उत्तिकै रहने जनाइएको छ ।
विश्व जलवायु सम्मेलन कोप—२६ ले पेरिस सम्झौताको धारा ६ स्वीकृति गरेपछि दुई पक्षीय सम्झौता गरी जलवायु न्यूनीकरणका काम गर्ने बाटो खुला भएको हो ।
प्रतिक्रिया