लेक बाट बेँसी झर्न थाले भेडाका बथान
लमजुङ । चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेक बाट बेँसी झर्न थालेका छन् । चिसो मौसम शुरु भए सँगै चरनमा समस्या आउन थाले पछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन् ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा. सुनिल न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर ३ सय भन्दा बढी घुम्ती भेडीगोठ रहेका छन् । ती सबै लेकबाट बेँसी झर्न थालेका छन् । सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुले लगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ रहेका छन् ।
गर्मीयाममा भेडाबाख्रा लेक तर्फ लैजाने गरेकामा चिसो मौसम शुरु भए सँगै बेँसी तर्फ पुनःफर्किएका भेडीगोठाला कमल अधिकारीले बताए । उनले भने, “गर्मीयाममा ६ महिना लेक र चिसोयामको ६ महिना बेँसीमा भेडीगोठ राख्ने गर्दछौँ । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने गरेको छ ।”
क्व्होलासोथार गाउँपालिका–३ घलेगाउँका दिर्घराज घलेले गाउँका दुई वडाका भेडीगोठ रहेका र चिसो हुन थाले सँगै लेक बाट घलेगाउँ तर्फ ल्याउन लागेको बताए ।
त्यस्तै, कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला क्युबे–ल्हेदे हुँदै गाउँ तर्फ फर्किन थालेको स्थानीयको भनाइ छ । जिल्लाको उत्तरी ताघ्रिङ्का भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी आइपुगेको र केही हप्तापछि गाउँमै ल्याइने छ ।
विशेष गरी गुरुङ समुदायको पुर्खौँली चलन तथा पेसाको रुपमा भेडिगोठलाई लिइन्छ । लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूध पोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँ सम्म लैजाने गरिन्छ । पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेको छ ।
बेँसीमा रहेको बेलामा भेडीगोठ बाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने, भेडाको ऊन निकालेर राडीपाखी, बख्खु लगायत सामग्री बनाउन प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्याङ्क छ । वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ । ऊनको प्रतिकिलो ३ सयमा बिक्री हुने गरेको छ ।
रासस
प्रतिक्रिया