एमालेको काठमाडौं केन्द्रित सभा अराजकताविरुद्ध !
काठमाडौं । नेकपा एमालेले दरबारमार्गमा गर्ने सभा अराजकताविरुद्ध सन्देश हुने जनाएको छ ।
बानेश्वरस्थित एक होटलमा पत्रकारहरुसँग अन्तर्क्रिरया गर्दै एमाले नेताहरुले ७ मंसिरमा दरबारमार्गमा हुने सभाबारे जानकारी दिएका थिए । अन्तर्क्रिरयामा नेताहरुले देशभित्र केही भइरहेको छ भन्ने सन्देश दिनु सभाको उद्देश्य रहने बताए ।
‘भइरहेका कुराहरुलाई सम्पूर्ण रुपले पर्दा लगाएर देश बर्बाद भइरहेको छ भन्ने निराशाको खेती गर्ने प्रयत्न भइरहेको छ, त्यसमा केही बोल्नुपर्छ भन्ने हो । सडक कब्जा गर्ने उद्देश्य होइन’, उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने ।
सभा मार्फत् एमाले कार्यकर्ता र जनतालाई सत्य कुरा भन्न लागेको ज्ञवालीले बताए । अराजकता सह्य नहुने सत्य जनसभा मार्फत् भन्न लागेको उनको भनाइ छ ।
जनसभा तयारी समितिका संयोजकसमेत रहेका बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले पनि सरकारले गरिरहेको कामबारे जनतालाई जानकारी दिन जनसभा गर्न लागिएको बताए ।
‘सत्तामा नहुँदा मात्र सडकमा जाने भन्ने हुँदैन । सत्तामा हुँदा पनि सडक र जनतामा गएर जनताको कुरा सुन्नुपर्छ, सरकारको कुरा भन्नुपर्छ, यो संसारको अभ्यास हो’, भट्टराईले भने ।
उनले एमालेको सभामा एक लाख हाराहारी सहभागिता रहने दावी पनि गरे ।
प्रतिक्रिया