कर्णाली र सुदूरपश्चिममा पहाडी जिल्लामा हवाइ उड्न सुचारु
नागरिक उड्डयन प्राधिकरणले हिमाली र पहाडी क्षेत्रका विमानस्थलमा लागु गरेको ‘अपरेसन आवर’ हटाएसँगै कर्णाली र सुदूरपश्चिममा विमान उड्न थालेका छन् । घाँसे मैदान भएको र विमानस्थलमा प्रविधि जडान नभएको अवस्थामा बनाइएको नियम लागु गरी प्राधिकरणले हिमाली र पहाडी क्षेत्रका जनतालाई मारमा पारेको भन्दै विरोध र आन्दोलनसमेत भएपछि ‘अपरेसन आवर’ हटाइएको हो । सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा नियमित उडान हुन थालेको छ । साढे १२ बजेपछिको समयमा शनिबार सुर्खेत र नेपालगन्जबाट तीनवटा विमान सिमकोट विमानस्थल पुगेर फर्केका छन । डोल्पाको जुफाल विमानस्थलमा पनि नियमित उडान सुरु भएको छ । विमानस्थल प्रमुख अमित चौरसियाले शुक्रबार र शनिबार दुई–दुई पटक विमान उडेको बताए । प्राधिकरणले साउन १५ देखि लागु गरेको सो कारण विमान उड्न छाडेको र थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान नसक्दा हुम्लाका चार बालकले ज्यान गुमाउनुपरेको मृतकका अभिभावकले आरोप लगाएका छन । हुम्लामा सुविधासम्पन्न अस्पताल नभएको र रेफर गरिएका बिरामीलाई समयमा उपचारार्थ बाहिरी अस्पताल लैजान नसक्दा अकालमै ज्यान गुमाउनुपरेको भन्दै उनीहरूले आरोप लगाएका हुन्। सो घटनाको देशभर विरोध भएको छ ।
प्रतिक्रिया