शान्ति प्रक्रियाका बाँकी काम पनि टुंगिने प्रक्रियामा : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न सबैमा अपिल गरेका गरेका छन् ।
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा सामाजिक सञ्जाल मार्फत् भिडिओ सन्देश जारी गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न सकिने बताएका हुन् । अध्यक्ष दाहालले नेपाली जनताले संघीय गणतन्त्र मार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो त्यो अनुसार हुन नसकेको भने स्वीकार गरेका छन् ।
अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पको साथ जरुरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता औल्याएका छन् । अहिले शान्ति सम्झौताको मूल लक्ष्य अनुसार शान्ति प्रक्रियाका बाँकी काम पनि टुंग्याउने प्रक्रियामा चलिरहेको उनको दाबी छ ।
सत्य निरुपण तथा बेपत्ता सँग सम्बन्धित आयोगले प्रक्रिया निष्कर्ष तिर लैजाने अध्यक्ष दाहालको विश्वास छ । विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशीला भएको उनको जिकिर छ ।
प्रतिक्रिया