कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइले कांग्रेसका सहमहामन्त्री एवं  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेमाथि लगाएको भ्रष्टाचारको  आरोप फिर्ता लिएका छन् । 

बजगाइले बुधबार सामाजिक सञ्जाल एक्स(ट्वीटर) मार्फत मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदैं माफी मागेका छन् ।  

 पाण्डेले लेखेका छन् ‘ सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो  मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु।’

बजगाईसँग नेपाली कांग्रेसले मंगलबार मौखिक स्पष्टीकरण लिएको थियो। त्यसपछि  उनलाई लिखित स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिइएको थियो । 

सांसद बजगाईंले गत हप्ता मन्त्रि पाण्डेमाथि करोड करोड घुस लिएर क्यासिनो सञ्चालनका लागि लाइसेन्स दिएको आरोप लगाएका थिए । सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्री पाण्डेलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाएका थिए । बजगाईंको आरोपको मन्त्री पाण्डेले खण्डन गर्नुका साथै झुठो अफवाह फैलाएको भन्दै  उनलाई कारवाही गर्न पार्टीसँग आग्रह गरेका थिए ।  

प्रतिक्रिया