युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी
एजेन्सी । युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ ।
युक्रेनले अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिए पछि रुसमा पहिलो आक्रमण गरेको हो । ब्रयान्स्क क्षेत्रमा युक्रेनले ६ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । युक्रेनले महिनौँ देखि अमेरिका सँग रुसमा आक्रमण गर्न लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।
रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले पाँच वटा क्षेप्यास्त्र खसालेको र छैटौँको टुक्रा भने सैन्य क्षेत्रमा खसेर आगलागी भएको बताएको छ । मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच, मस्कोले रुसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रमा आक्रमण गर्न पश्चिमी हतियारको प्रयोगले अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष सहभागी बनाउने र उचित र स्पष्ट जवाफ दिने चेतावनी दिएको छ ।
उता अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई लामो दुरीको आक्रमणको अनुमति दिए लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको परमाणु नीति संशोधनमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया