चाडपर्व सकिँदा समेत घटेन हरियो तरकारीको भाउ

काठमाडौं । दशैं अगाडि देशैभर आएको अविरल वर्षाले भएको बाढी पहिरोले महँगिएको तरकारी दशैं तिहार, छठ लगायतका प्रमुख चाडपर्व सकिँदा समेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन ।

ताजा तरकारीको माग अनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको माग अनुसार आपूर्ति नभएकाले पनि भाउ महँगो भएको छ । 

कालीमाटीमा सामान्य अवस्था दैनिक एक हजार देखि एक हजार एक सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकामा अहिले सात सय देखि ७ सय ५० मेट्रिक टनको हाराहारीमा मात्रै तरकारी भित्रिने गरेको छ । बर्खे तरकारी सकिएको र हिउँदे तरकारी बजारमा प्रर्याप्त नआइसकेकाले बजारमा तरकारी महँगो भएको बताइएको छ । 

नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको साउन देखि असोज सम्मको मूल्य वृद्धिको आँकडा अनुसार तरकारीको मूल्य अचाक्ली नै बढेको देखाउँछ । खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत सबै भन्दा बढी तरकारीमा २५.१५ प्रतिशतले बढेको तथ्य सार्वजनिक गरेको छ । 

प्रतिक्रिया