दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत पेश गरिदै

आधा दर्जन कसुरमा अनुसन्धान सुरु

काठमाडौ। साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो । केही दिनअघि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको दूरसञ्चार कम्पनीमा लगानी गरेको र आफूसँग त्यसको प्रमाण रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिएरु। त्यसपछि प्रहरी निगरानीमा रहेका प्रसाईंलाई सीआईबीले अदालतबाट अनुमति लिएर मंगलबार पक्रेर थप अनुसन्धान गर्न साइबर ब्युरोको जिम्मा लगाएको हो ।पक्राउपछि प्रसाईंलाई साइबर ब्युरोको जिम्मा लगाइएको र सीआईबीबाट अन्य कसुरहरूमा अनुसन्धान थालिएको हो । पक्राउ परेका प्रसाईलाई आज अदालतमा उपस्थित गराउने तयारी छ । विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान थालिएको हो ।  बैंकर र व्यवसायी गरी ४ जनाले अपरिचित व्यक्तिबाट धम्की आएको भन्दै साताअघि सीआईबीमा जाहेरी दिएका थिए । प्रहरीले प्रसाईंसँग जोडिएका आर्थिक कारोबारसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। 

प्रतिक्रिया