‘दलहरूबीच विश्वासको वातावरण बनाउनुपर्छ’
काठमाडौं । दलहरूबीच गहिरिँदै गएको विश्वासको सङ्कटलाई चिर्दै शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
त्रिभुवन विश्वविद्यालय, द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रियामा सहभागी नेतालगायतले विशेष गरी शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरूबीच विश्वास कायम गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जरूरी रहेको बताउका हुन् ।
नेपाली कांग्रेसका नेता एवं तत्कालीन सरकारको वार्ता टोलीका संयोजक कृष्ण सिटौलाले १८ वर्ष पुगिसक्दा पनि शान्ति प्रक्रिया टुङ्गोमा नपुग्नु दुःखद् भएको बताए । उनले पछिल्लो समय प्रमुख दलहरूबीच झनै विश्वासको सङ्कट गहिरिँदै गएकाले यसले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अवरोध खडा गर्नेतर्फ सचेत गराए ।
हरेक क्षेत्रका समस्या राजनीतिक सहमतिका आधारमै अघि बढाइएको दृष्टान्त प्रस्तुत गर्दै उनले पछिल्लो समय शान्ति प्रक्रियामा काम अघि बढाउन पनि राजनीतिक सहमतिले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।
नेता सिटौलाले भने, “तत्कालीन १२ बुँदे सम्झौताका हस्ताक्षरकर्ता सात दलमा सहभागी नेपाली कांग्रेस र (नेकपा) एमाले तथा तत्कालीन द्वन्द्वरत पक्ष नेकपा (माओवादी) केन्द्रबीच अझै विश्वासको वातावरण हुन जरूरी छ ।”
कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनका लागि काम अघि बढाइएको र आउँदो चार वर्षमा त्यो पूरा हुने विश्वास व्यक्त गरे । उनले विस्तृत शान्ति सम्झौताको ‘स्प्रिरिट’ अनुसार मुख्य गरी पीडित पक्षसँग मेलमिलाप गर्ने कुरालाई नै प्राथमिकता दिइएको र गम्भीर प्रकृतिका घटनामा भने मिलमिलाप नहुने प्रष्ट पारे ।
कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पछिल्लो समय राजनीतिक नेतृत्वमा एकले अर्कालाई छक्याउने, झुक्याउने, छल गर्ने गतिविधि विकास भएको र यो प्रवृत्ति राजनीतिमा हानिकारक रहेको जिकिर गरे । यस्ता गतिविधिले नागरिकमा वितृष्णा पैदा हुँदै गएको पनि उनले उल्लेख गरे ।
प्रतिक्रिया