प्रहरीले बरामद गर्यो दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट प्रहरीले ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।
त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले बताएको छ ।
प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।
‘त्यस्तो कीर्ते कागजात उनले कसरी बनाए ? अरु कसैले पठाएको हो भने कसले पठायो भन्ने विषय पनि अनुसन्धानका क्रममा खोज्नुपर्ने भएकाले बरामद गरेका हौं’, प्रहरीले भनयो, ‘मोबाइल र ल्यापटपबाट ती कागजातको स्रोत पत्ता लाग्न सक्छ भन्ने अपेक्षा हो ।’
प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए ।
प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका हुन् ।
प्रसाईंमाथि सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान गर्ने प्रहरी तयारी छ ।
प्रतिक्रिया