दुर्गा प्रसाईंको नालीबेली : ओलीसँगको विवाद यस्तो, कसरी बनाए कीर्ते कागजात, कस्तो होला सजाय ?
काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक सञ्जालको भाइरल म्यान यति मात्र होइन् देशमा अराजकता फैलाउने गिरोहको मुख्य व्यक्ति दुर्गा प्रसाईंलाई नचिन्ने सायदै होलान् । उनलाई मंगलबार (आज) प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले प्रक्राउ गरेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध ‘फेक डकुमेन्ट’ बनाएर प्रचारप्रसार गरेको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रसाईंले सोमबार पत्रकार सम्मेलन मार्फत कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनिमा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै सामाजिक सञ्जालमा कागजात सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षर नक्कली रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीको नागरिकताको नाम र प्रसाईंले सार्वजनिक गरेको कागजातमा फरकै नाम भेटिएको छ । प्रधानमन्त्री ओलीको नागरिकतामा केपी शर्मा ओली नै रहेको छ भने, प्रसाईंले सार्वजनिक गरेको कागजातमा खड्क प्रसाद ओली र कतिपय डकुमेन्टमा खड्ग प्रसाद ओली गरि २ वटा नाम उल्लेख गरिएको छ । कुनैपनि कम्पनिमा कसैले कागजात बुझाउँदा एक अक्षर समेत फरक भएको खण्डमा त्यो डकुमेन्ट मान्य हुँदैन् । तर, यहाँ प्रसाईंले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नाम मात्र होइन्, हस्ताक्षर समेत किर्ते देखिएको प्रहरीको भनाइ छ । यसरी ‘फेक डकुमेन्ट’ बनाएर प्रचाप्रसार गर्ने र अफवाह फैलाउनेमाथि पनि प्रहरीले निगरानी बढाइसकेको छ । प्रसाईंमाथि अनुसन्धान गरेर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा कारबाही अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ । उनी विरुद्ध कागजात कीर्ते र मानहानीको मुद्धा समेत लाग्ने प्रहरीको भनाइ छ ।
यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा असोज ६ गते पक्राउ गरेको थियो । उनलाई साइबर सम्बन्धी कसुरमा अदालतले असोज १५ गते धरौटीमा छोड्न आदेश दिएको थियो । त्यसपछि १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं हिरासतमुक्त भएका थिए । प्रसाईंलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजाएको मागदाबी सहित यसअघि मुद्धा दायर भएको थियो । सो मुद्धाको पनि फैसला आएको छैन् । अहिले उनी फेरि प्रधानमन्त्री ओली विरुद्ध ‘फेक डकुमेन्ट’ बनाएर दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका हुन् ।
मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ग अनुसार कागजात र हस्ताक्षर कीर्ते गर्नेलाई ७ वर्ष कैद सजाय र ७० हजार रपैयाँ सम्म जरिवाना हुनसक्ने बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एभिन्यूज खबरलाई जानकारी दिए । प्रसाईंमाथि अब कागजात कीर्ते र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान हुनेछ ।
को हुन् दुर्गा प्रसाईं ?
दुर्गा प्रसाईं नेपाली राजनीतिक कार्यकर्ता र चिकित्सा व्यवसायी हुन् । उनलाई झापामा मेडिकल कलेज बी एण्ड सी अस्पताल स्थापना गर्न नबिल बैंकले दिएको ७५ करोड रुपैयाँ ऋण चुक्ता नगरेको आरोप लागेको थियो । नेपालको वर्तमान संघीय सरकारलाई चुनौती दिदै नेपालमा संवैधानिक राजतन्त्र स्थापना गर्नका लागि उनले बारम्बार सामाजिक र राजनीतिक अभियान चलाइरहेका छन् ।
विगत लामो समयदेखि प्रसाईं माआवादी पार्टीमा आवद्ध थिए । नेकपा विभाजन भएपछि २०७८ मंसिरमा चितवनमा आयोजित एमालेको दसौं महाधिवेशनमा दुर्गा प्रसाईंले केन्द्रीय सदस्य बन्ने चाहना राखेका थिए । तर, महाधिवेशनमा केन्द्रीय सदस्य हुन नपाएपनि प्रसाईं पार्टी बैठकबाट केन्द्रीय सदस्य मनोनित भए । डिसेम्बर २०२१ मा केन्द्रीय समितिको लागि मनोनयन प्राप्त गरेपछि, प्रसाईं एमालेको उद्योग, व्यापार शाखाको उपप्रमुख बने । माओवादी पार्टीको संसदवादी यात्रामा सहभागी भएर विवादास्पद बनेका प्रसाईं सायद माओवादीबाट स्वार्थ पुरा नहुने देखेपछि नै होला केपी ओलीको छहारी खोज्दै एमालेमा प्रवेश गरेका हुन् ।
ओली र प्रसाईंबीच कसरी शुरु भयो विवाद ?
२०७८ सालसम्म प्रधानमन्त्री ओलीलाई घनिष्ट मित्र मान्ने दुर्गा प्रसाईं पछिल्लो समय ओली र एमाले विरुद्ध किन खनिएका छन् भन्ने विषय झन् रोचक छ । बेलाबेलामा विवादमा परिरहने व्यवसायी दुर्गा प्रसाईं कुनै बेला नेकपा एमालेका केन्द्रीय सदस्य थिए । सार्वजनिक कार्यक्रमहरूमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबुवाको नाता लगाउँदै बोल्थे । एउटा बिन्दुमा प्रसाईंले एमाले र केपी ओलीबाट धेरै अपेक्षा राखेका थिए । प्रसाईं मेडिकल व्यवसायी थिए तर उनले सम्बन्धन पाएनन् । पहिले माओवादी रहेका उनी ओली शक्तिशाली र सत्ताधारी हुने देखेपछि स्वार्थपुर्तीका लागि एमालेमा लागेको बताइन्छ । २०७९ सालको निर्वाचनमा पार्टीले उनलाई संसदको उम्मेदवार बन्ने अवसर नदिएकोले विशेषगरी प्रसाईं केपी ओलीको आलोचना गर्दै हिँडेका थिए ।
एमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड एवं केपी ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईं एकाएक चर्चामा आएका थिए । उनी त्यस बेला आफूले झापामा स्थापना गरेको एउटा मेडिकल कलेजलाई सम्बन्धन लिने प्रयासमा थिए ।
मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई चिकित्साशास्त्र अध्यापन गराउन सम्बन्धन दिन नहुने लगायतका माग राखेर डा. गोविन्द केसीले गरेको सत्याग्रहका कारण प्रसाईँका जस्तै मेडिकल कलेजहरूलाई सम्बन्धन नदिन सरकार दबावमा परेको थियो । तात्कालिक अवस्थाको शक्तिशाली दललाई आफ्नो हातमा लिँदा सहजै सम्बन्धन पाउने अपेक्षामा प्रसाईंले ओली र प्रचण्डबीच समझदारी बढाउन आफ्नै घरमा बैठक राखेको र प्रभावित पार्न खोजेको धेरैको बुझाइ थियो । प्रसाईं ओली र प्रचण्डबीच विसं २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गराउन आफूले भूमिका खेलेको दाबी समेत गरिरहेकै हुन्छन् ।
एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनी एमालेबाट निष्काशित हुन पुगे । पार्टीको नीति विपरित बोल्दै हिँडेको भनी नेकपा एमालेले पार्टीबाट निस्काशन गरिसकेपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन् । प्रसाईं प्रधानमन्त्री ओलीको विदेशको एउटा कम्पनीमा लगानी रहेको विवादास्पद अभिव्यक्ति त्यस बेलादेखि दिँदै आएका हुन् । एमालेविरुद्ध होइन केपी ओलीसँग पारिवारिक नाता भएको देखाउन रुचाउने प्रसाईं तारान्तार प्रधानमन्त्री ओली विरुद्ध विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।
प्रतिक्रिया