मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र

तेह्रथुम । सात वर्ष देखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिका स्थित खरङ्वा खोला बाट यावरा सम्मको १० किलोमिटर सडक कालोपत्र शुरु भएको छ । 

तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन । प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायी सहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्त भित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाए सँगै कालोपत्रको काम शुरु गरिएको हो ।  

सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दिपेश खतिवडाले मङ्सिर भित्र ६ किलोमिटर सबवेस र चार किलोमिटर कालोपत्र गरिसक्ने गरी काम शुरु गरिएको बताए । 

उक्त खण्ड कालोपत्रका लागि दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर, हाल सम्ममा ६ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थपिएको म्याद यही पुस मसान्तमा सकिँदैछ ।  यसपल्ट निर्धारित समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रमोद अधिकारी र शारदा ढकालले प्रतिबद्धता जनाएकोे प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 
 
पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त खण्ड कालोपत्र नहुँदा यात्रीले सास्ती भोग्नुपरेको फेदाप गाउँपालिका–२ हाङसुरुङका राजेन्द्र सुवेदीले बताए । हिउँदमा धुलाम्मे सडकमा जसोतसो सवारी चले पनि वर्षायाममा धेरै सास्ती व्यहोर्नु परेको उनको भनाइ छ ।

उक्त सडकखण्ड सदरमुकाम म्याङलुङलाई जिल्लाको फेदाप गाउँपालिका, आठराई गाउँपालिका र पाँचथर सदरमुकाम फिदिम जोड्ने मुख्य मार्ग हो । फेदाप गाउँपालिकाकै यावरा बाट पञ्चमी सम्मको सडकमा भने ठेकेदारले काम नगरेपछि ठेक्का तोडिएको छ । 
रासस 

प्रतिक्रिया