कागजात विहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात विहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने योजना बनाएको बताएका छन् । 

सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र आप्रबासीलाई निकाल्ने उनले बताएका हुन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोष्टलाई पुनः पोष्ट गर्र्दै उनले सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार रहेको बताएका हुन ।

नोभेम्बर ५ मा डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए । उनले अध्यागमन र भन्सार प्रवर्तनका पूर्व कार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’ को रूपमा नामकरण गर्दै आप्रवासन बारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको मन्त्रिपरिषद घोषणा गरिसकेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनको प्रशासन कालमा गैरकानूनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि ट्रम्पले कागजात विहीन लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने उनले यस अघि नै बताएका छन् । 

अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानूनी रूपमा बसिरहेको तथ्यांक छ । ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया