बाढी प्रभावित परिवारलाई नयाँ घर हस्तान्तरण

पाँचथर । असोज १२ गते फेमे खोलामा आएको बाढीका कारण घरसहित सबै सम्पती गुमाएका फिदिम नगरपालिका–११ का एक परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको छ ।

जनसेवा समाज पाँचथरको पहल तथा नेपाली सेनाको श्रम तथा स्थानीयको सहकार्यमा अपाङ्गता भएका फिदिम ११ निवासी प्रेमप्रसाद श्रेष्ठको परिवारका लागि नयाँ घर बनाइएको हो ।

घर निर्माणका लागि जनसेवा समाज पाँचथरले पहल गरेको थियो । जस्तापाताको छानो र बाँसले घेराबारा गरेर दुई कोठा भएको एकतले घर निर्माण गरिएको हो । जुन घर निर्माण गर्न नेपाली सेनाले ५२ र हाम्रो सहारा पाँचथर नामक सामाजिक संस्थाले ७ जना जनशक्ति उपलव्ध गराएको बताइएको छ ।

आवस्यक काठपात सल्लेरी सामुदायिक बन फिदिम ११ ले उपलव्ध गराएको बताइएको छ । जस्तापाता सहितका सामग्री खरिदका लागि फिदिम नगरपालिका–११ का आशिष आङबो, फिदिम नगरपालिका–२ का संखरकुमार थापा मगर, फिदिम नगरपालिका–४ का राजकुमार जोशी, फिदिम नगरपालिका–१ का गजेन्द्र थापा र फिदिम नगरपालिका–४ का राजेन्द्र अधिकारीले आर्थिक सहयोग गरेका छन् ।

जनसेवा समाज, स्थानीय र नेपाली सेनाको साझेदारीमा निर्मित श्रेष्ठको घर सोमबार हस्तान्तरण गरिएको छ । असोज १२ गते फेमे खोलामा आएको बाढीले श्रेष्ठको घर, बस्तुभाउसहित घर भित्रका सबै सामग्री बगाएको थियो । श्रेष्ठको परिवारमा श्रीमती र छोरा सहित तीनजना सदस्य छन् ।

प्रतिक्रिया