रुसमाथि आक्रमण गर्न युक्रेनलाई अमेरिकाको अनुमति, पुटिन आक्रोशित, बाइडनले विश्वयुद्ध गराउने

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न दिने अनुमति युक्रेनलाई प्रदान गरेका छन् ।

आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका जो बाइडनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न किएभलाई अनुमति दिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले जानकारी दिएको छ ।

लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो । यद्यपि बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए । तर, ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहयोग उपलब्ध नगराउने अनुमान गरिएको छ ।

तर उनले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभन्दा दुई महिनाअघि बाइडन प्रशासनले आफ्नो नीति उल्ट्याउँदै अस्त्र प्रयोगको अनुमति दिएको हो। यसलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ।

आगोमा घिउ थपेको रुसको भनाइ !
अमेरिकाको निर्णयप्रति रुसमा चर्को आक्रोश व्यक्त भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले अमेरिकाले युद्धको “आगोमा घिउ थपेको“ प्रतिक्रिया दिएको छ ।

यसलाई आफूले युक्रेनबाट नभई अमेरिकाबाटै भएको आक्रमको रुपमा बुझेको क्रेम्लिनले एक विज्ञप्तिमा जनाएको छ ।

सत्ताबाट बाहिरिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडनले तनाव बढाउन चाहेको “स्पष्ट“ भएको उसले बताएको छ ।

रुसको माथिल्लो सदनका सांसद भ्लादिमिर जबारोफले त्यसलाई "तेस्रो विश्वयुद्धतर्फको एउटा अभूतपूर्व कदम" भनेका छन्।

के युद्ध अझै चर्किएला ?
युद्ध अझै चर्किने डरले बाइडन प्रशासनले यसअघि महिनौँसम्म पनि युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरेर रुसभित्र आक्रमण गर्ने अनुमति दिएको थिएन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो भूभागभित्र पश्चिमा देशमा बनेका हतियार प्रयोग नगर्न चेतावनी दिएका थिए । रुसले आधुनिक युद्धपोत र लडाकु विमानहरू युक्रेनलाई उपलब्ध गराउने कुरालाई रुस र नेटोबीचको युद्धका रूपमा हेर्ने चेतावनी दिँदै आएको छ ।

नेटोका लागि एक भूतपूर्व अमेरिकी राजदूत कर्ट भोल्करले यस्ता हतियारको प्रयोग गर्न अनुमति दिने निर्णय सार्वजनिक गर्नु अमेरिकाको गल्ती भएको बताएका छन् ।

डोनल्ड ट्रम्पको प्रतिक्रिया कस्तो होला ?
अहिले जो बाइडन कामचलाउ राष्ट्रपति बनिसकेका छन् । उनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्न दुई महिना मात्रै बाँकी रहँदा भएको निर्णयलाई ट्रम्पले निरन्तरता दिन्छन् वा दिँदैनन् भन्ने स्पष्ट छैन ।

ट्रम्पका केही निकट सहयोगीहरूले यो निर्णयको आलोचना गरिसकेका छन् ।

ट्रम्पका छोरा डोनल्ड ट्रम्प जूनिअरले सामाजिक सञ्जालमा लेखेका छन्, “मेरा बुवाले शान्ति स्थापना गर्नु र मानिसहरूको ज्यान जोगाउनुअघि नै सैन्य औद्योगिक भवनले तेस्रो विश्वयुद्ध शुरु गराउला जस्तो देखिँदै छ ।“

ट्रम्पले युक्रेन युद्धबारे आफूले लिने नीतिबारे केही बोलेका छैनन् । उनले आफू पदमा पुगेको एक दिनमै युद्ध अन्त्य गर्ने बताउँदै आए पनि त्यो कसरी गर्छन् भन्ने खुलाएका छैनन् ।

ट्रम्प प्रशासन कुन दिशामा जान्छ भन्ने स्पष्ट नभएपनि तर युक्रेनमा कतिपयले ट्रम्पले अस्त्रहरूको आपूर्ति रोक्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया