हिंसा भड्किने आशंकामा भारतको मणिपुरमा उच्च सतर्कता
एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा महिला र बालबालिकाका छ वटा शव फेला पारेपछि हिंसा भड्किने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।
मैतेई समुदायका छ जना सदस्य एक राहत शिविरबाट बेपत्ता भएपछि प्रदर्शन सुरु भएको थियो । तर गत शुक्रबार राहत शिविरबाट करिब २० किलोमिटर बेपत्ता भएकाहरुको शव फेला पारिएको थियो । प्रदर्शनकारीहरुले जनप्रतिनिधि खासगरी भारतीय जनता पार्टीका नेता र सांसदहरुको घरमा आक्रमण गरेका थिए । त्यसपछि शनिबार हिंसा भड्किएको थियो ।
मैतेई समूहहरूले आफ्ना मानिसहरूलाई अल्पसङ्ख्यक कुकी समूहका मानिसहरूले अपहरण गरेको आरोप लगाएका छन्। यद्यपि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन। यो घटनासँगै त्यहाँ हिंसात्मक प्रदर्शनहरू भएका छन्। सरकारले राज्यका केही भागमा इन्टरनेट सेवा समेत बन्द गरिदिएको छ ।सन् २०२३ को मे महिनामा दुई जातीय समूहहरूबीचको द्वन्द्वका कारण मणिपुरमा २०० जनाको मृत्यु भएको थियो भने हजारौँ मानिसहरू विस्थापित भएका थिए।
प्रहरीले यो हिंसासँग जोडेर २३ जनालाई गिरफ्तार गरेको छ भने अनिश्चित समयका लागि कर्फ्यू लगाइएको छ। त्यसबाहेक मैतेईको धेरै प्रभाव रहेको इम्फाल भ्याली र विष्णुपुर जिल्लामा इन्टरनेट सेवा पनि बन्द गरिएको छ।
यस्तै राजधानी इम्फालको सहरी क्षेत्रमा सुरक्षालाई ध्यानमा राख्दै सेना र असम राइफल्स तैनाथ गरिएको छ।
प्रतिक्रिया