सरुवा रोग नियन्त्रण महाशाखाद्धारा डेंगुको संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु संक्रमणको उपचार प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगुको संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु संक्रमणको उपचार प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
दैनिक डेंगु संक्रमण बढिरहेकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई आवश्यकता अनुसार ‘ज्वरो क्लिनिक’ संचालन गर्न मन्त्रालयले निर्देशन दिएको हो । अस्पतालमा डेंगु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिक संचालन गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।
डेंगु संक्रमण अहिलेसम्म १४ हजार ३ सय ५७ जनामा देखिएको छ । ७५ जिल्लामा फैलिएको संक्रमणबाट हालसम्म १२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार ४९५ जनामा संक्रमण देखिएको छ । सुनसरी जिल्लामा मात्र कुल संक्रमितको ५२ दशमलव २ प्रतिशत विरामी रहेका छन् ।
अहिलेको अवस्थामा डेंगु संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको छ । वर्षायाम शुरु भएसँगै असारको अन्तिम सातादेखि संक्रमण ह्वात्तै बढीरहेको छ ।
डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले पारेको फुलबाट निस्कने लार्भाले बयस्क भएर टोकेपछि लाग्ने गर्दछ ।
प्रतिक्रिया