न्यूजल्याण्ड संसदको हाका नृत्य घटना विश्वभर चर्चा,नेपालले के सिक्ने ?

अनिल रायमाझी

न्यूजल्याण्डको संसदमा गत हप्ता एक घटना घट्यो । यो घटनाले हाल विश्व भर चर्चा पाइरहेको छ । सन २०२४ मा “वान योङ्ग वर्ल्ड पोलिटिसियन अफ द इयर” अवार्ड जितेर चर्चा कमाएकी न्यूजल्याण्डकी २२ वर्षीया सांसद हाना रावहिती माईपी–क्लार्क सहित ते पार्टी माओरीका सांसदहरूले संसदमा गरेको हाका नृत्य र विवादास्पद विधेयक च्यातेको घटनाले विश्वभरको ध्यान खिची रहेको छ ।

यो घटना न्यूजल्याण्डको आन्तरीक राजनीतिमा मात्र नभइ,विश्वभर आदिवासी अधिकार,परम्परागत संस्कृति र मौलिकताको संरक्षणको विषयमा बहस छेड्दै सांसद हाना र उनको पार्टीको कदमलाई विश्वका अधिकांशले प्रशंसा गरिरहेका छन् ।

न्यूजल्याण्ड र माओरी समुदायको इतिहास 

सन् १८४० मा बेलायती शासक र आदिवासी माओरी अगुवाहरूबीच भएको सन्धिका आधारमा न्यूजल्याण्ड देश स्थापना भएको थियो । तर हाल आएर सत्तारुढ गठबन्धनले त्यही सन्धिमा भएका लिखतहरूको पुनः व्याख्या गर्ने र आदिवासी माओरी समुदायको अधिकारमा कटौती गर्ने गरी विधेयक प्रस्तुत गरेपछि न्यूजल्याण्डमा त्यसको विरोध हुँदै आएको छ । कुल जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्ने माओरीहरूले उक्त विधेयकको विरोध गर्दै आएका छन् । त्यसबारे संसद्मा यसअघि पनि विरोध हुँदै आएको थियो । १२ हजार वर्ष अगाडीदेखि अस्तित्वमा आएको न्यूजल्यान्डमा हल्यान्डका अबेल तासमनले अस्ट्रेलियासँगै न्यूजल्यान्ड टेकेको इतिहास भेट्छि । त्यसो त सन् ७५० मा सरदार क्युपले न्यूजिल्यान्ड पत्ता लगाएका थिए  भनिन्छ ।  तर यसबारे एकिन भने छैन। उनी माओरीका आदिपुरुष मानिन्छन् । माओरीहरू सयभन्दा बढी प्रजातिका छन् जो आफ्नै मुलुकमा अहिले अल्पमतमा छन् । उनीहरूको आफ्नै मौलिक परम्परा,भाषा,संस्कृति छ । 

हाका, आदिवासी माओरी समुदायको ऐतिहासिक नृत्य

हाका परम्परागत नृत्य हो । जब आगन्तुकलाई समुदायमा स्वागत गरिन्छ,त्यतिबेला  हाका नृत्य देखाइन्छ । त्यसैगरी  हाका जन्मदिन, विवाह, अन्त्येष्टि, र अन्य उत्सवका कार्यक्रमहरूमा पनि समावेश गरिन्छ। यो  आदिवासी पहिचानको प्रतीक हो ।  ताराहरूको अर्चना गरिने माटारिकी उनीहरूको ठूलो चाड हो । घरबाहिर जुत्ता खोलेर जाने जस्ता उनीहरूको चलन धेरै एसियाली देशको संस्कृतिसँग मिल्छ ।माओरी समुदायले भने आफूहरूमाथि हुँदै आएको अन्याय र अत्याचारको सम्बोधन हुने गरी कानून बनाउनुपर्ने माग गर्दै आएका छन् ।

विश्व मौलिक संस्कृति संरक्षण उन्मुख ?

 न्यूजल्याण्डको बिपक्षी दल ते पार्टीका माओरी सांसदहरूले संसदमा गरेको हाका नृत्य र माओरी सभ्यताको संरक्षणमा कानुनी अधिकार सहितको विरोधको विश्वभर चर्चा हुनुले मौलिकता र संस्कृति संरक्षणबारे विश्व गम्भीर छ भन्ने सन्देश गएको छ । हुन त  सन् १९८२ मा नै संयुक्त राष्ट्रसङ्घमा आदिवासी समुदायको अधिकार सम्बन्धमा एक कार्य समूह गठन भएको थियो  । यसबाट आदिवासीको अधिकार सम्बन्धी सवालले संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा औपचारिक प्रवेश पाउनुका साथै सन् २००० मा संयुक्त राष्ट्रसङ्घ आर्थिक तथा सामाजिक परिषद्सँग आबद्ध रहने गरी आदिवासी सवालसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्च (युएनपिएफआइआई) गठन भयो  । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको उदय भएसँगै उग्र राष्ट्रवादको बाछिटा विश्वका अधिकांश देशहरूमा पर्ने स्वभाविक नै छ । त्यसो हुँदा उदार लोकतन्त्रको औचित्य र भविष्यबारे गहन बहस पनि एक कोणबाट  सुरू भैसकेका छन् । तर विशेष हरेक पश्चिमी राष्ट्रहरू आफ्नो धर्म,परम्परा,संस्कृति र इतिहासको संरक्षणमा तल्लिन छन भन्नेमा दुई मत छैन ।

नेपालले के सिक्ने ? 

नेपाल र न्यूजल्यान्डको सम्बन्ध पुरानो छ । सन् १९६१ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम दुइमध्ये एक व्यक्ति सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले  सन् १९५३ मे २९ मा सगरमाथाको  प्रथम आरोहण गरे पछि सुमधुर सम्बन्धको सुरूवात भएको थियो । जसरी न्यूजल्यान्डमा अल्पमतमा परे पनि  माओरीहरूले आफ्नो हजारौ वर्ष पुरानो मौलिक परम्परा र इतिहासको संरक्षण गर्दै आएका छन त्यसैगरी हामी नेपाली भने आफ्ना सांस्कृतिक विविधताको संरक्षण गर्न चुकिरहेका छौँ । नेपाल आफैमा सांस्कृतिक विविधताले भरिएको देश हो । नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दीहरूको अन्तरालमा विकसित भएको इतिहास छ । तर पनि हामीले आफ्नो परम्परा,मौलिक सभ्यता र संस्कृतिलाई विश्व माझ चिनाउन सकिरहेका छैनौं । विश्व माझ तब मात्र चिनाउन सकिन्छ, जब हामी स्वयंम आफ्नो वैदिक परम्परा,संस्कृतिको मौलिक विज्ञान र महत्व बुझेर त्यसलाइ थप मान्यता दिन्छौँ ।

आधुनिक विज्ञानका एकएक उपलब्धिको आधार हाम्रो वेद र उपनिषद् नै हुन् भन्ने विभिन्न आधार र प्रमाणहरू भेटिन्छन । यसको आधारभूत ज्ञान पहिल्यै उपभोग गरेको वैदिक विज्ञान अपनाएको समाजले यसबारे संसारलाई प्रभावित पार्नुपर्ने थियो । तर, हामीलाई लामो समयसम्म हाम्रा शास्त्र अन्धविश्वासयुक्त र रुढ हुन् भन्ने कुराले गाँज्यो र अझैँ पनि गाँजीरहेको छ । अंग्रेजी भाषा र पश्चिमा शिक्षा नै आधुनिकीकरण र प्रगति हुन् भन्ने भ्रमले हामी न यता न उताको भएका छौँ। तर, विज्ञान भने एकपछि अर्को वेदका ऋचालाई सत्यका रुपमा स्वीकार गरेर तथ्यसहित लिएर आउँदैछ ।

नेपाल दक्षिण एसियाकै सबैभन्दा पुरानो स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न देश भएको नाताले पनि हाम्रो आफ्नै दर्शन छन,अलौकिक पद्धतिछन,अद्वितीय इतिहास छ,र पनि विश्वको ध्यान केन्द्रित गर्न सकिरहेका छैनौं ।

प्रतिक्रिया