नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ : मन्त्री शाही

अजरबैजान । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ ।

अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) स्थलमा आज उहाँहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिए ।   

भेटमा मन्त्री शाहीले बङ्गलादेश र नेपालबीच जलवायु परिवर्तनको विषयमा धेरै समानता भएकाले यस विषयमा दुई देशको सहकार्यको ठूलो महत्व रहेको बताएका थिए ।

साथै उनले बङ्गलादेश र नेपाल बीचको ऊर्जा व्यापार सम्झौतालाई निष्कर्षमा पु¥याउन, उहाँको महत्वपूर्ण भूमिका र नेतृत्वका लागि आभार व्यक्त गरे । यसैको परिणामस्वरूप, नेपालले १६ नोभेम्बर २०२४ देखि औपचारिक रूपमा ४० मेगावाट जलविद्युत् बङ्गलादेशलाई निर्यात गर्न सुरु गरेको छ ।

मन्त्री शाहलिे भने, “सन् २०२६ को अन्त्यमा हाम्रा दुवै राष्ट्रहरु अति कम विकसित मुलुकको स्तरबाट अघि बढ्ने भएकाले त्यस बेलाका लागि पनि यो सहकार्य अझ महत्वपूर्ण हुनेछ ।”

सो अवसरमा बङ्गलादेशका वन, वतावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री हसनले कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालसँग सुदृढ सम्बन्ध र सहकार्य रहँदै आएको बताउँदै आगामी दिनमा थप विस्तार हुने अपेक्षा गरेका थिए । सन् १९७१ मा बङ्गलादेशको स्थापनालगत्तै नेपाल र बङ्गलादेश बीचको द्विपक्षीय सम्बन्ध स्थापित भएको हो ।

प्रतिक्रिया