१० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउनका लागि अध्ययन शुरु गरिएको बताएका हुन् । उनले १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना अगाडी बढाउन पनि सरकार लागिपरेको जानकारी दिए । 
प्रधानन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउँदै नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि जनाए । उनले नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको स्पष्ट पारे । 
कार्यक्रममा प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्षमा प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको र सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको जानकारी दिए । उनले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रश्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको पनि बताए । उनले प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने स्पष्ट पारे । 
प्रवन्ध निर्देशक घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको बताउँदै प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरिएको जानकारी दिए । हाल ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने गरी आवश्यक कार्य अगाडी बढाइएको बताए ।

प्रतिक्रिया