कांग्रेसद्वारा ढुंगानको निधनमा गहिरो दुःख ब्यक्त, २ दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले आज र भोली  २ दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

आज सोमबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्व सभामुख दमननाथ ढुंगानको निधनमा गहिरो दुःख व्यक्त गर्दै २ दिनसम्म (मंसिर ३ र ४ गते) पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले ढुंगानको  निधनमा भोली मंसिर ४ गते मंगलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । यसैगरी कांग्रेस बैठकले ढुंगानको  निधनको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजन गर्ने निर्णय पनि गरेको छ । 

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । ढुंगानाको  आजै  पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । अहिले भने ढुंगानाको  पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा राखिएको छ । 

नेपाल सरकारले राजकीय  सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरेका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका ढुंगाना संविधान र कानुनका ज्ञाता समेत रहेका थिए । विसं २०४८ मा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि ढुंगाना प्रतिनिधिसभाको सभामुख बनेका थिए ।

नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न ढुंगानाको उल्लेखनीय योगदान छ ।


 

प्रतिक्रिया