पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
त्यस लगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो ।
नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरेका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका ढुंगाना संविधान र कानुनका ज्ञाता समेत रहेका थिए । विसं २०४८ मा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि ढुंगाना प्रतिनिधिसभाको सभामुख बनेका थिए ।
नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न ढुंगानाको उल्लेखनीय योगदान छ ।
प्रतिक्रिया