रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी मोर्चाबन्दी भएको छ ।  गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवारले  कांग्रेसको चुनाव चिह्न रुखबाट मनोनयन दर्ता गराएका छन् ।  दुई दलबीच भएको सहमतिअनुसार माओवादीविरुद्ध रुख चुनाव चिह्नबाट एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी एमाले निकट महिलाहरुको संगठन अनेमसंघकी केन्द्रीय सदस्य पनि हुन् । माओवादीबाट भने उपाध्यक्षमा ज्ञानदेवी पुनले उम्मेदवारी दर्ता गराएकी छिन् ।

गत निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रकी भूपेन्द्र बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् । कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार १ सय ८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो । पालिका उपाध्यक्षसँगै पुथा उत्तरगंगाको वडा नं. २ मा पनि कांग्रेस एमालेले साझा उम्मेदवार बनाएका छन् । वडामा भने एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदवार बनाइएको छ ।

रोका भने एमालेकै चुनाव चिह्नबाट उम्मेदवार बनेका छन् । वडा नं. २ का माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । दुवै दलले साझा उम्मेदवार बनाउने र साझा घोषणापत्रका आधारमा पालिका र वडाको चुनाव लड्ने गरी सहमति गरेका छन् । सहमतिपत्रमा कांग्रेसका सभापति रोका र एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया