क्यानडाको उत्तरी शहरमा डढेलो लाग्दा हजारौँ मानिस विस्थापित, एलोनाइफ शहरका २० हजार नागरिक सुरक्षित स्थानतर्फ लागे

काठमाडौं । उत्तरी क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिने संभावना बढेपछि हजारौँ मानिस विस्थापित भएका छन् ।

सरकारले डढेलो बस्तीमा सल्किने खतरा बढेको चेतावनी दिएपछि उत्तरी प्रान्तको राजधानी एलोनाइफ शहरका बासिन्दा विस्थापित भएका हुन । डढेलोको जोखिममा रहेका करिव २० हजार मानिसले शहर छाडेका हुन । विमानस्थलमा भीड थामिनसक्नु भएपछि विमानस्थल अधिकारीहरुले कम्तिमा दुई घण्टा पहिले विमानस्थल पुगेर आफ्नो सिट सुरक्षित गर्न भनेका छन् ।

सडक मार्ग हुदै शहर छाड्नेहरु पनि उत्तिकै रहेका छन् । सरकार आफैले पनि मानिसहरुलाई अन्यत्र सारिरहेको छ । लगभग ४६ हजार मानिसहरू बसोबास गर्ने डढेलो प्रभावित क्षेत्रमा सेनाले इतिहासमै सबैभन्दा ठूलो हवाई उद्धार प्रयासको समन्वय गरिरहेको जनाएको छ । गत साता अमेरिकाको हवाइमा यस्तै डढेलो सल्किंदा एक सय जनाभन्दा बढीको मृत्यु भएकाले मानिसहरु त्रसित देखिएका छन ।

बिहीवारसम्म डढेलो सहरको १६ किलोमिटर नजिकसम्म फैलिसकेको छ । करिब २ सय ४० वटा ठाउँमा डढेलो लागेपछि सो क्षेत्रमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । आज र भोली उत्तर पश्चिमदेखि पश्चिम–उत्तर–पश्चिम दिशामा दुई दिनसम्म चल्ने हावाहुरीले डढेलो थप बढने अनुमान छ ।

बुधवारसम्म क्यानडामा देशभर करिब १ हजार १ सय सक्रिय डढेलो देखिएका छन । क्यानडामा अत्यधिक तापक्रम वृद्धिले यो वर्ष मात्रै एक हजार बढी आगलागीका घटना भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया