ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सोमबार  बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बोलाइएको हो । बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने छ । उनको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने सरकारको तयारी छ ।

 पूर्वसभामुख दमननाथ ढुंगानाको उपचारका क्रममा आईतबार दिउसो निधन भएको हो । ढुंगानाको स्वास्थ्यमा समस्या आएपछि पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएमा दिउसो दुई बजे उनको निधन भएको हो । कलेजो सम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । ढुंगाना एक महिनादेखि बिरामी भएपछि उपचार गराउदै आएका थिए । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

२०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि केही समय सग्लन भएका थिए । ढुंगानाले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए । बरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख बनेका थिए । गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा समेत उनले नागरिक आन्दोलनको अगुवाइ गरेका थिए । उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए । ०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर दुईबाट कांग्रेसको उम्मेदवार हुँदा भने उनले पराजय ब्यहोरेका थिए । 

नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको ठूलो योगदान छ । सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागि रहने नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रुपमा स्थापित  रहेका थिए । ढुंगानाको निधनमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले समवेदना प्रकट गरेका छन ।

प्रतिक्रिया