रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो। अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो।
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएका हुन्। लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
प्रतिक्रिया