साठी किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ, पक्राउ पर्ने उच्च तहमा तस्करी गर्ने व्यक्ति भएको दाबी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । फक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

हङकङबाट आएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबीले उनीहरुलाई गएराति काठमाडौंबाट पक्राउ गरेको हो । गएराति पक्राउ परेका दुई जनासहित यस प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

सिआईबीले साउन ३१ गते चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधबार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पत्ति रहेका र उनीहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गर्दै आईरहेको अनुसन्धानबाट खुलेको छ ।

यस्तै, डिङ सेग्फा र ली–नेङकाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने गर्ने गरेको पाईएको छ । राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १ सय ५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो ।

१९ दिनसम्म अनुसन्धान गरेर विभागले संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । सीआईबीले साठी दिनभित्र मुद्दा दर्ता गर्ने गरी तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया