उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता जारी

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ  । 

स्थानीय तहमा रिक्त रहेका ४४ पदमा मङ्सिर १६ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता भैरहेको हो । सम्बन्धित पालिकाको केन्द्र र वडामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता बेलुकी ५ बजेसम्म जारी रहनेछ । जसमध्ये पालिकाका प्रमुख र उपप्रमुख एक÷एक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षको ३४ पद रिक्त छन् । 

दुई वटा जिल्ला समन्वय समितिको प्रमुख पद पनि रिक्त छन् । पालिका केन्द्रमा नौ र वडा केन्द्रमा २९ गरी ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय मार्फत ४२ पदको मनोनयन दर्ता भइरहेको हो । जिल्ला समन्वय समितिको प्रमुख पदका लागि कैलाली र ओखलढुङ्गामा निर्वाचन हुने छ । ओखलढुङ्गामा जिल्ला निर्वाचन अधिकारी र कैलालीमा प्रदेश निर्वाचन अधिकारी निर्वाचन अधिकृतको भूमिकामा रहनेछन । स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ अनुसार मनोनयनपत्र दाखिला गर्दा वडाध्यक्षले एक हजार र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने छ ।

महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुटको व्यवस्था छ । काठमाडौंको कीर्तिपुर  नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका तर्फबाट  शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी ज.स.पा.का तर्फबाट तेस्रो लिङ्गी  हनि महर्जनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नेकपा एमालेलेले डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार बनाएको छ  ।कांग्रेसले कृष्णमान डंगोललाई मेयरको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया