रा.स्व.पा.को आकांक्षी उम्मेदवारलाई अपहरण गर्न खोजिएको आरोप
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)ले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी दिने आफ्ना पार्टीका मान्छेलाई धाक धम्की सहित घरवाटै अपहरण गरि अज्ञातस्थलमा लगेको आरोप लागाएको छ।
पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आइतबार विज्ञप्ति जारी गर्दै हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दिन तयार पारेका कार्यकर्तालाई अन्य पार्टीका नेता कार्यकर्ताले धाक धम्की दिएको तथा अपहरण शैलीमा अज्ञातस्थलमा लगेको आरोप लगाएको हो ।
उम्मेदवारका लागि तयार रहेकी सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला मङ्सिर १ गते दिउँसो करिब १ बजे थापा र उनका श्रीमान् बल थापालाई करिब ४०–४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगिएको बताएका छन् ।
घटनाबारे थाहा भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको समेत रास्वपाले जनाएको छ । ‘रास्वपाका उम्मेदवार र उनको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुन सक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उनको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ।'
उनका अनुसार उक्त घटनामा स्थानीय नेपाली काँग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको छ । साथै रास्वपाले हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका पार्टीका केही सदस्यहरूलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको जनाएको छ ।
‘यसैबिच मधेस प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरूलाई धम्की दिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरू भएको विज्ञप्तिमा भनिएको छ ।
‘यसरी उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाक धम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र रास्वपालाई उम्मेदवारी नै दिन नदिने यसप्रकारका चरम अलोकतान्त्रिक व्यवहारको हामी घोर निन्दा गर्दछौँ', रास्वपाको विज्ञप्तिमा भनिएको छ।'
प्रतिक्रिया